एसबिआई मर्चेन्ट बैंकिङमा डिम्याट खाता खोल्दा ८२ प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले डिम्याट तथा मेरो सेयर खाता खोल्न छुटसहितका योजना सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसर पारेर छुटसहितका योजना सार्वजनिक गरेको हो ।

कम्पनीले डिम्याट खाता निःशुल्क गर्ने तथा एक वर्ष डिम्याट तथा मेरो सेयरको नवीकरण गर्दा सय रुपैयाँमात्र लिने भएको छ । यसअघि यस्तो शुल्क दुई सय रुपैयाँ थियो ।

त्यस्तै, डिम्याट खाता निःशुल्क गरेको कम्पनीले ५ वर्षका लागि डिम्याट तथा मेरो सेयरको नवीकरण गर्दा ४ सय ९९ रुपैयाँमात्र लिने भएको छ । यसअघि यस्तो शुल्क ८ सय रुपैयाँ थियो ।

कम्पनीले परिवारका लागि छुट्टै छुट सुविधा दिएको छ । परिवारका सदस्यले तीनवटा डिम्याट तथा मेरो शेयर खोल्दा र नवीकरण गर्दा एउटा निःशुल्क गर्ने भएको हो । त्यस्तै ६ सय लाग्दै आएको शुल्क पनि ४ सय रुपैयाँमात्र लिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निःशुल्क डिम्याट खाता खोल्ने सुविधा दिएको कम्पनीले १० वर्ष डिम्याट तथा मेरो सेयरको नवीकरण गर्दा यसअघि १ हजार ५५० रुपैयाँ लिँदै आएकोमा अब ९९९ रुपैयाँमात्र लिने भएको छ ।

निःशुल्क डिम्याट खाता खोलेर आजीवन नवीकरण गर्दा ७ हजार ५५० रुपैयाँ लिँदै आएको कम्पनीले ८० प्रतिशत छुट गरेर १ हजार ४९९ रुपैयाँमा नवीकरण गर्न सकिने सुविधा दिएको छ ।

त्यस्तै निःशुल्क डिम्याट खाता खोलेर आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा कम्पनीले यसअघि लिँदै आएको ११ हजार ३ सय रुपैयाँ शुल्कमा ८२ प्रतिशत छुट गरी १ हजार ९९९ रुपैयाँमात्र लिने भएको छ ।

यस्ता खाताहरुको सहज पहुँचले, गाहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै धितोपत्र निष्कासन कम्पनीको पुँजी सुनिश्चितताका लागि सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु