क्यासीको ३७औं सम्मेलनः दिगो उद्यमशीलता र व्यापारमा कोसेढुंगा



काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)को ३७औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोसेढुंगा हुने बताए ।

एशिया प्रशान्त क्षेत्रका देशसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनले स्पष्ट पारे । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समयसापेक्ष र सान्दर्भिक रहेको विचार उनको छ । विश्व व्यापार परिदृश्यमा पंक्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया-प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने राष्ट्रपतिले बताए ।

राष्ट्रपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह गरे ।

कार्यक्रमका मुख्य वक्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग र उदीयमान उपभोक्ता बजार नेपालको सबल पक्ष रहेको बताए । खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उनको भनाइ छ ।

‘युवा जनसंख्याको बाहुल्य रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मञ्चमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनुपर्छ,’ उनले भने ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुपयोग गर्न सम्मेलनका सहभागीहरुलाई आग्रह गरे । नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाको अर्थपूणर् सहयोग नेपालले खोजेको बताए ।

सम्मेलनको प्रारम्भमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एशिया-प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताए । दुई उदीयमान अर्थतन्त्रहरु चीन र भारतको बीच अवस्थित नेपाल एशिया प्रशान्त क्षेत्रका उद्यमीका लागि आकर्षक लगानी गन्तव्य हुने उनको धारणा छ ।

एशिया प्रशान्त क्षेत्रका उद्यमी व्यवसायी, लगानीकर्ता, नीति निर्माता, सरकारी र निजी क्षेत्रको सहभागिता रहेको यो सम्मेलन नेपालका लागि थप सहयोगी हुने उनको धारणा छ । यसैगरि नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर रहेको ढकालले बताए ।

पर्यटन पूर्वाधारहरु होटल, केवलकार र थिम पार्क उच्च प्रतिफल दिने क्षेत्र रहेको उनले जानकारी गराए । भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढ्दै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे ।

क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले दिगो एवं वातावरण मैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुभव आदानप्रदान गर्न र आर्थिक सम्बन्धहरु विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने बताए । क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोसेढुंगा हुने उनले बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यका लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गरे ।

परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघहरुको छाता संस्था हो । सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनको मुख्य थिम ‘चेम्बर्स अफ कमर्स हेल्पिङ बिजनेस गेट सेट फर द फ्युचर’ रहेको छ ।

विश्व आर्थिक मञ्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायी एवं सरकारी प्रतिनिधिसमेत गरी २ सयभन्दा बढीको सहभागिता छ ।


क्लिकमान्डु