सांसद र मन्त्रीको स्वागतमा लाग्नुपर्दा राहत वितरणमा समस्या, गृहमन्त्रीले भेट्न दिएनन्ः अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन् ।

रुकुम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरुले मन्त्री र सांसदहरुलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको र त्यो समस्या समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा पनि आफूले नपाएको उनको गुनासो थियो ।

सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्यालले मन्त्री र सांसदहरुलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भए पनि भूकम्प पीडितलाई राहत दिने काममा सिडियोहरुलाई लगाउन आग्रह गरे । सरकार आम उपभोक्ताको हितका लागि जिम्मेवार नभएको उनको आरोप थियो ।

‘रुकुम र जाजरकोटमा भूकम्प गयो । सिडियो साहेवहरु चाहीँ संघीय सांसद र मन्त्रीहरु, अनि प्रदेशका सांसद र मन्त्रीहरुको स्वागत र सत्कारमै व्यस्त भएर त्यहाँ जम्मा भएको राहत वितरणमा समस्या आयो भनेर गुनासो छ भने हामी कतातिर गईरहेका छौं भन्ने कुरा चाँही त्यसले पनि देखायो । मैले गृहमन्त्रीज्युलाई भेटेरै तुरुन्तै तपाईले यो काठमाडौंबाट दुई जना सहसचिवहरु पठाई दिनुस् स्वागत गर्नका लागि । त्यहाँ बसेर उहाँहरुले स्वागत गर्नु हुन्छ । तर सिडियोहरुलाई चाहीँ काम गर्न लगाउनुस भन्न गएको । तर उहाँले भेटन समय नै दिनु भएन । अब ठिकै छ । भन्न गएको, भेट्न पाइएन । अब के गर्नु ?’ उनले भने ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकार जिम्मेवार नभएकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकिएको बताइन् ।

संसदीय समितिले यस अघिको बैठकमा मात्रै चिनी लगायतका अति आवश्यकीय वस्तुहरुको सहज ढंगले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए पनि सरकारले सो अनुसार कामै नगरेको उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद हेमराज राईले मुलुक कमिशनतन्त्रको, घुसखोरी, कालोबजारीहरुको, अराजकताको एउटा ठूलो भूमरी भित्र प्रवेश गरेको जस्तो अनुभुति आफूले गरेको बताए । सरकार र सरकारी निकायलाई जति अनुगमन गरेपनि उसले इमान्दार ढंगले काम नगरेकाले कारणले उपभोक्ताहरु मारमा पर्नुपरेको उनको निष्कर्ष थियो ।


क्लिकमान्डु