रोशन कोइरालालाई सिबिफिन उपमहानिर्देशकको जिम्मेवारी



काठमाडौं । नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको अग्रणी संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशकमा रोशन कोइरालालाई नियुक्त गरिएको छ । कोइरालाले कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएको सिबिफिन सचिवालयले जनाएको छ ।

नेपालको एक वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकाश लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।

व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पुँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकीय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेसागत विकासजस्ता क्षेत्रमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयबाट विशिष्ट तालिमसमेत लिएका छन् ।

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव छ ।


क्लिकमान्डु