लुम्बिनी प्रदेशमा दैनिक ६० हजार लिटर दूध बढी, पाउडर बनाउनु पर्ने बाध्यता



काठमाडौं । लुम्बिनी प्रदेशमा खपतभन्दा बढी दूध उत्पादन हुँदा समस्या सिर्जना भएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा दुग्ध किसानसँग गरिएको छलफलको क्रममा खपतभन्दा बढी दूध उत्पादन भइरहेको फेला परेको हो ।


नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रह्लाद दाहालका अनुसार अहिले दूधको बजार ५० प्रतिशतले घटेको छ । उक्त प्रदेशमा खपत हुने दूधको परिमाण घटेका कारण दैनिक ६० हजार लिटर दूध बढी भएको हो । बढी भएको यो दूध बजार पाउन नसक्दा स्थानीय किसानलाई समस्या भएको दाहालले जानकारी दिए ।


‘खपत हुन नसकेर दैनिक बचत भएको ६० हजार लिटर दूध धुलो दूधमा परिणत गर्नुवाहेक विकल्प देखिएन,’ दाहालले भने,‘तर अहिले नीजि क्षेत्रका डेरी र सरकारी डेरीसँग पहिलेदेखि ठूलो परिमाणमा पाउडर दूध मौज्दात छन् । पहिलेदेखि तयारी अवस्थामा रहेको पाउडर दूधले समेत बजार पाइनरहेको अवस्थामा थप कच्चा दूधबाट पाउडर दूध बनाउन पनि अर्को समस्या सिर्जना भएको छ ।’


खपतभन्दा बढी भएको दूधले बजार नपाइदा किसानले आर्थिक आम्दानी गर्नबाट वञ्चित भएको नेपाल डेरी एशोसिएसनका पूर्व केन्द्रिय अध्यक्ष मेघराज भण्डारीले जानकारी दिए । खपतभन्दा बढी उत्पादन भएका दूधको व्यवस्थापन गरी सरकारले किसानलाई यो पेशाबाट पलाउन हुन नदिन विशेष प्याकेजको कार्यक्रम घोषणा गर्नुपर्ने भण्डारीको सुझाव छ ।


क्लिकमान्डु