भूकम्पपीडितका लागि भारतले पठाएको १० करोडको राहत सामग्री आइपुग्यो



काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार आएको भूकम्पबाट पीडितका लागि भारतले १० करोड भारतीय रुपैयाँबराबरको आपतकालीन राहत सामाग्री उपलब्ध गराएको छ ।

यसमध्ये पहिलो खेपको सामाग्री नेपालगञ्ज आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारतीय वायुसेनाको विशेष विमान सी १३० ले ११ टनभन्दा बढी तौलबराबरको राहत सामाग्री लिएर आइपुगेको हो ।

भूकम्प प्रभावित स्थानीयबासिन्दाहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ ब्याग, पोर्टेवल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी भारतले उपलब्ध गराएको हो ।

भारतीय दूतावासका राजदूत नवीन श्रीवास्तबले यो राहत सामाग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा संघीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् ।

भारतले आगामी दिनमा थप खेपमा राहत सामाग्री उपलब्ध गराउने जनाएको छ । यसअघि २०७२ सालमा आएको भुकम्पको क्रममा पनि भारतले १ अर्ब अमेरिकी डलरबराबरको आर्थिक सहयोग उपलब्ध गराएको थियो । यो आर्थिक सहयोग अन्तर्गत गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण गरिएको थियो ।


क्लिकमान्डु