काठमाडौं महानगरपालिकाको वडास्तरीय कर अनुगमन सुरु, बहालमा झुटो विवरण फेला
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडास्तरीय राजस्व अनुगमन तथा लगत संकलन गर्ने अभियान सुरु गरेको छ । महानगरपालिकाको वडाहरुले यो अभियान सुरु गरेको हो ।
सम्पत्ति, वहाल र व्यवसाय कर बुझाउनु पर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न र दायरामा नआएका करदाताहरुको विवरण संकलन गर्नका लागि यो स्थलगत अनुगमन अभियान थालिएको हो ।
अनगुमनका क्रममा अनलाइन माध्यममार्फत कर तिर्न प्रोत्साहन गरिनेछ । गत् भदौ ३ गते सम्पन्न प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट राजस्व विभागले वडाहरुलाई पत्र पठाउँदै अनुगमन टोली सम्बन्धी व्यवस्था, टोलीले गर्नु पर्ने कामको विषयमा जानकारी गराएको थियो । सोही अनुसार वडाहरुले वडा सदस्यको नेतृत्वमा ३ सदस्यीय अनुगमन टोली गठन गरेका छन् । टोलीमा कर्मचारी १ जना र स्थानीयमध्ये एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।
टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार गरिनेछ । स्थलगत अवस्थाको विवरण संकलन गरिनेछ । संकलित विवरण कम्प्युटरमा अद्यावधिक गरी तथ्यांकसहितको विवरण तयार पारिनेछ । तयार पारिएको विवरण राजस्व विभागमा पठाउने तयारी गरिएको छ ।
अभियानको क्रममा वडा नम्बर १३ कालीमाटीले आइतबारदेखि अनुगमन गर्न सुरु गरेको छ । अनुगमनको क्रममा पहिलो दिन ताहाचल क्षेत्रमा रहेका अधिकाँश गोदाम दर्ता नभएको पाइएको छ ।
वडा सदस्य रामबाबु कोइरालाका अनुसार ७ तले घरले ७ हजार बहाल सम्झौता देखाएका छन् । तर हरेक भूमिगत तला र जमिन तला व्यवसायिक प्रयोजनमा प्रयोग भएको देखिएको छ । त्यस माथिका तला वहालमा लगाइएको छ । एउटै तलामा ७ वटाभन्दा धेरै कोठा छन् । हरेक कोठाको ७ हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि अनुगमन गर्ने अभियान सुरु गरिएको वडा सदस्य कोइरालाले बताए ।
अर्का वडा सदस्य रुपेश महर्जनका अनुसार प्लाष्टिकका ठूला गोदामलाई करको दायरामा ल्याउन सकिने अवस्था नरहेको जानकारी दिए । यस्ता गोदाम आगलागीका दृष्टिले उच्च जोखिममा छन् ।
ताहाचलबाहेक अन्य ठाउँमा खाद्यान्न, औषधि, तरकारी, फलफुल, लत्ताकपडाका ठूला गोदाम घरहरु छन् । वडाले अनुगमनका लागि टोली गठन गरी क्षेत्र छुट्टयाएको छ ।
कालीमाटी, रविभवन, सोल्टीमोड, कलंकी, ताहाचल, कुलेश्वर वडा १३ मा पर्छन् । यो वडामा ९ हजार १२२ व्यवसायीले नियमित रुपमा कर व्यवसाय कर तिर्दै आएको भेटिएको छ ।