एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको सम्मेलन सोमबारदेखि काठमाडौंमा



काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ ।

परिसंघ एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ र संघहरुको छाता संस्था हो । सम्मेलन कात्तिक २० र २१ गते २ दिन चल्नेछ । सम्मेलनको मुख्य थिम ‘चेम्बर्स अफ कमर्स हेल्पिङ बिजनेस गेट सेट फर द फ्युचर’ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना हुने सम्मेलनको सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले होटल ह्यातमा उद्घाटन गर्ने कार्यक्रम छ । विश्व आर्थिक मञ्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो ।

उद्घाटन कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम र महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्बोधन गर्नेछन् ।

परिसंघले एशिया प्यासिफिक क्षेत्रका देशहरुमा उद्योग, व्यवसाय, लगानी प्रविधिको विस्तारमार्फत यस क्षेत्रका जनताको जीवनस्तर सुधार र आपसी लाभका क्षेत्रमा काम गरिरहेको छ ।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेता र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायी र सरकारी प्रतिनिधिसमेत गरी करिब २ सयभन्दा बढीको सहभागिता रहनेछ ।

सम्मेलनबाट नेपालमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि, पर्यटन आकर्षण हुने अपेक्षा गरिएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका देशबीच आपसी सहकार्यका माध्यमबाट दिगो विकास, उद्यमशीलता र व्यापार प्रवर्धनमा मुख्य जोड दिइनेछ ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया-प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायतका महत्वपूणर् विषयमा दुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार तथा सरकारी प्रतिनिधि र नीति निर्माताले विचार विमर्श गर्नेछन् ।

नेपाल र एशिया प्रशान्त क्षेत्रका राष्ट्रबीच बलियो सम्बन्ध विस्तारमा यो सम्मेलन कोसेढुंगा हुने विश्वास महासंघको छ । 

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कात्तिक २१ गते समापन गरिनेछ ।

सन् १९६६ मा स्थापना भएको क्यासी एसिया-प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरूबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्धनमा एक सक्रिय साझा मञ्चको रूपमा कार्य गर्दै आएको छ ।

यसको बलियो सञ्जाल र सशक्त पहलहरूमार्फत उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिहरूको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

संस्थाले नियमित सम्मेलन, सेमिनार र व्यापार फोरम आयोजना गरी सदस्यहरूलाई छलफलमा संलग्न हुन, विचार आदानप्रदान गर्न र साझेदारी र लगानीका अवसरहरूको अनुसन्धान गर्न साझा प्लेटफर्मसमेत प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु