भूकम्पपीडितलाई एनआरएनए अष्ट्रेलियाको १० हजार डलर सहयोग



काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्पपीडितको उद्धार तथा राहतका लागि तत्काल १० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । संघको विपत् उद्धार कोषबाट तत्काल उद्धार तथा राहतका लागि सो रकम छुट्याइएको अध्यक्ष अनिल पोख्रेलले बताए ।

थप सहयोगका लागि ‘गो फण्ड’ मार्फत रकम संकलन भइरहेको उनले जानकारी दिए । सहयोग गर्न चाहनेले  गोफण्ड क्याम्पेनका साथै एनआरएनएको ‘डिजास्टर रिलिफ अकाउण्ट’मा पनि रकम जम्मा गर्न सक्नेछन् । यसरी संकलन गरिएको रकम पछि भौतिक पुनर्निर्माणमा सहयोग गरिने अध्यक्ष पोख्रेलले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा संघका तर्फबाट उपाध्यक्ष सञ्जय पुरीले सहजीकरण गरिरहेको जानकारी उनले दिए । पुरी अहिले भूकम्प प्रभावित क्षेत्रमा नै रहेको र संघको राहत प्याकेजको व्यवस्थापन गरिरहेको उनले बताए ।

अध्यक्ष पोखरेलले अहिलेको विपतको अवस्थामा तत्कालै आफूसँग भएका स्रोतसाधनको प्रयोग गरी उद्धार कार्यमा खटिन सम्बन्धित सबैलाई आग्रहसमेत गरेका छन् ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पीडित भएकाहरूको अहिले उद्धार कार्य जारी छ । जसका लागि विभिन्न संघसंस्थाले राहतका लागि आर्थिक सहयोग घोषणा गर्दै आएकोमा एनआरएनए अष्ट्रेलियाले पनि आर्थिक सहयोगको घोषणा गरेको हो ।

भूकम्पमा परी ज्यान गुमाउनेहरूमा दुःख व्यक्त गर्दै अध्यक्ष पोखरेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्  ।


क्लिकमान्डु