गण्डकीद्वारा भूकम्प प्रभावित कर्णालीलाई एक करोड सहयोग



गण्डकी । गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

‘भूकम्पबाट कर्णालीमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्काले सहयोग गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड दिने निर्णय गरेका हौँ’, उनले भने ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन शनिबार नै औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए । मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकटसहित भूकम्पका घाइतको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

पोखरा महानगरपालिद्वारा सहयोग

पोखरा महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यको नेतृत्वमा चिकित्सकसहित १७ जनाको राहत टोली मध्यपहाडी लोकमार्ग हुँदै भूकम्प प्रभावित क्षेत्रमा गएको हो ।

‘स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको हाम्रो टोली आजै बेलुकासम्म भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोट पुगिसक्छ’, उनले भने, ‘औषधि, त्रिपाल, कम्मल, लत्ताकपडालगायत राहत सामग्री लिएर हामी त्यसतर्फ जाँदैछौँ ।’ महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगसमेत घोषणा गरेको छ ।

महानगरका जनप्रतिनिधिले एक महिनाबराबरको पारिश्रमिक भूकम्प प्रभावितको राहत कोषमा प्रदान गर्ने निर्णय गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । शनिबार नै गण्डकी प्रदेश सरकारले पनि आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित औषधि र स्वास्थ्य सामग्री रुकुम पश्चिम र जाजरकोट पठाइएको प्रदेश सरकारले जनाएको छ ।

गण्डकी प्रदेशका अन्य निकाय र स्थानीय तहले पनि भूकम्प प्रभावितको उद्धार तथा राहत सहयोगमा सकेजति हातेमालो गरिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीको नेतृत्वमा औषधिसहित स्वास्थ्यकर्मीको टोली रुकुम पश्चिम र जाजरकोट पठाइएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । उक्त टोली आइतबार बिहान भूकम्पबाट अतिप्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पुगेर भूकम्पमा परी घाइते भएकाको उपचारसहित मानवीय सहायतामा जुटेको उहाँको भनाइ छ।

‘राष्ट्रिय विपद्का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो हामीले त्यसैलाई सक्दोरूपमा निभाएका हौँ’, गाउँपालिका अध्यक्ष अधिकारीले भने, ‘सबैले सहयोगको हात फैलाऔँ, भूकम्पबाट प्रभावितको घाउमा मलमपट्टी लगाऔँ, राज्यले पनि राहत तथा पुनःस्थापनाको ठोस योजना ल्याउन ढिलाइ गर्नु हुँदैन ।’

नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प प्रभावितका लागि दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । अन्य स्थानीय तहले पनि राहत सहयोग जुटाउन पहल गरिरहेका छन् । सामाजिक सङ्घसंस्था र जनस्तरबाट समेत भूकम्प प्रभावितका लागि सहयोग सङ्कलन सुरु भएको छ ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले आफ्नो एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने हुनुभएको छ । भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको राहत कोषमा उक्त रकम प्रदान गर्ने प्रदेशसभा सदस्य सुवेदीले बताए ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा अकल्पनीय क्षति पुगेको छ ।


क्लिकमान्डु