भूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा गरी मृतकको संख्या १५७ पुग्यो



जाजरकोटमा भूकम्पमा परी घाइते भएकालाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याएर सुर्खेतस्थित प्रदेश अस्पताल लैजाँदै नेपाली सेनाको टोली । तस्बिर : रासस

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ भने १९७ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०५ तथा रुकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका हुन् ।

यसैगरी भूकम्पबाट जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५ तथा दैलेख र बैतडीमा ३-३ र रोल्पामा १ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौं र अन्य ठाउँमा पठाउने काम भइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीनै सुरक्षा निकाय भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेका छन् । प्रभावित क्षेत्रमा १ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।


क्लिकमान्डु