अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी



काठमाडौं । बृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यावसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ ।

राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा महासंघका राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महानिर्देशक गोकर्णराज अवस्थीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार राष्ट्र बैंक र महासंघले विविध विषयमा तथ्य र तथ्यांकमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । सम्झौताले राष्ट्र बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढ्ने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्ने बताए । यसले सही सूचना प्रवाहित हुने विश्वास उनको छ ।

समझदारीअनुसार राष्ट्र बैंकले समय–समयमा गर्ने अध्ययनमा महासंघ र सदस्य संस्थाहरुले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउनेछ भने महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकले प्राविधिक सहयोग प्रदान गर्नेछ । आवश्यकताअनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ ।

समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागू हुनेछ । राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा डेपुटी गभर्नर डा निलम ढुंगाना, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।


क्लिकमान्डु