काठमाडौं महानगरमा ७१ प्रधानाध्यापक र ११ शिक्षकलाई रोजगारीको अवसर
काठमाडौं । काठमाडौं महानगरपालिकालले महानगरभित्र रहेका विभिन्न विद्यालयहरुका लागि ७१ जना प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरेको छ । महानगरले शुक्रबार सूचना सार्वजनिक गर्दै प्रधानाध्यापक र शिक्षकको माग गरेको हो ।
महानगरले प्रधानाध्यापकहरुलाई विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणमार्फत छनोट गर्ने तथा शिक्षकहरुलाई लिखित, प्रयोगात्मक र अन्तर्वार्तामार्फत छनोट गर्ने जनाएको छ । महानगरका अनुसार प्रधानाध्यापकलाई पाँच वर्षका लागि करारमा राखिनेछ ।
प्रधानाध्यापकमा ६ जना आधारभूत तह (कक्षा १ देखि ५), २१ जना आधारभूत तह (कक्षा १ देखि ८) र ४४ जनालाई माध्यमिक तहका लागि माग गरेको छ । सम्बन्धित तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा अवधि भएकाहरुले आवेदन दिन सक्ने महानगरले जनाएको छ ।
त्यस्तै, ११ जना शिक्षकलाई महानगरले स्रोत शिक्षकका रुपमा नियुक्त गर्ने गरी महानगरले रोजगारी खुलाएको छ ।
शिक्षकमा महानगरले २ जना अंग्रेजी, २ जना नेपाली, ३ जना गणित, २ जना सामाजिक र २ जना विज्ञान विषयका लागि शिक्षक खोजेको छ । शिक्षाशास्त्रमा कम्तीमा स्नात्तकोत्तर गरेका र माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएका काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुमार्फत करारमा नियुक्त गरिने महानगरले जनाएको छ ।
प्रधानाध्यापकको पदका लागि मंसिर ८ गतेसम्म र शिक्षकको पदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सक्ने महानगरले जनाएको छ ।