सिद्धिविनायक स्टिलको व्यापार ३६ प्रतिशतले घट्यो, साढे २५ करोड घाटा



काठमाडौं । गोयन्का ग्रुपको सिद्धिविनायक स्टिलको व्यापारको ३६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३६ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा २ अर्ब ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२३ मा बजारमा स्टिलको माग नहुँदा १ अर्ब ३३ करोड ५० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ मा माइल्ड स्टिल (एमएस)-ब्ल्याक पाइप उत्पादन गर्ने गरी स्थापना भएको कम्पनीले वार्षिक ७३ हजार मेट्रिक टन उत्पादन स्टिल उत्पादन गर्दै आएको छ।

रामगोपाल गोयन्का अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २७ करोड ६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड रुपैयाँ गरी २ अर्ब २५ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा आइरन र स्टिलको मूल्यमा कमी आउँदा व्यापारमा असर परेको छ । जसमा कम्पनीले सन् २५ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । सन् २०२२ मा कम्पनीले ४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादान गरेको एमएस पाइप पूर्वाधार निर्माण, अटोमोबाइल, औषधी र तेल उद्योग, आवासिय हाउजिङ र सेड निर्माण बढी प्रयोग हुँदै आएको छ


क्लिकमान्डु