साझा यातायातले ७ वटा चार्जिङ स्टेशन बनाउँदै, ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारी



काठमाडौं । साझा यातायातले विद्युतीय बसका लागि ७ वटा चार्जिङ स्टेशन बनाउन सुरु गरेको छ । विद्युतीय बस भित्रिएको लामो समय बितिसक्दा पनि चार्जिङ स्टेशन बनाउन सकेको थिएन । त्यसैले, साझा यातायातले पुल्चोकमै ७ वटा चार्जिङ स्टेशन बनाउने कार्य अगाडि बढाएको हो ।

साझा यातायात सञ्चालक समिति मेन्द्र पाण्डेले पुल्चोकमा चार्जिङ स्टेशन बनाउने कार्य तीब्र रुपमा अगाडि बढाएको बताए । उनकाअनुसार विद्युतीय बस सञ्चालनलाई सहज बनाउनका लागि साझाले आफ्नै जग्गामा ७ वटा चार्जिङ स्टेशन बनाउन सुरु गरेको हो ।

‘अहिले चार्जिङ स्टेशन बनाउने कार्यलाई अगाडि बढाएको छ । साझाले आगामी दुई÷तीन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ,’ उनले क्लिकमाण्डुसँग भने ।

साझा यातायातले गत वर्ष नै ४० थान विद्युतीय बस नेपाल भित्र्याएको थियो । साझाले चीनको सीएचटीसी कम्पनीसँग विद्युतीय बस खरिद गरी नेपाल भित्र्याएको थियो । उक्त संख्यामा बस भित्रिएपनि चार्जिङ स्टेशनको अभावका कारण आधा मात्रै सञ्चालन भइरहेका छन् ।

नेपाल भित्रिएको बस चार्जिङ स्टेशनको अभावका कारण सञ्चालन हुन नसकेपछि साझाले स्टेशन बनाउने कार्यलाई जोड दिएको उनको भनाइ छ । हाल नेपाल विद्युत प्राधिकरण र साझा यातायात पुल्चोकमा रहेका ३ वटा तथा प्रधिकरणका अन्य स्थानका चार्जरबाट २० बस चार्ज गरी सञ्चालन गरिरहेका छन् ।

साझाले बस खरिद गर्दा नै चार्जिङ स्टेशन बनाउनका लागि ४० विद्युतीय बस खरिद गर्दा नै लागत समावेश गरेको थियो । त्यसमा बसससहित आवश्यक २० वटा चार्जिङ स्टेशनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ लगानी भएको साझाले जनाएको छ ।

‘चार्जिङ स्टेशनका लागि छुट्टै लागत कति हो भन्ने यकिन छैन,’ उनले भने, ‘साझाले बस ल्याउँदा नै सिएचटिसी कम्पनीले बससँगै आवश्यक चार्जरहरू पठाएको थियो । सोही चार्जरहरु बनाउनका लागि पुल्चोकको आफ्नै बिल्डिङमा स्टेशन बनाउने भएको हो ।’

उक्त स्टेशन बनाएसँगै साझाको विद्युतीय बस सञ्चालनमा समस्या नआउने अपेक्षा गरेको छ । अहिले चार्जिङ स्टेशनकै कारण थन्किएका बसहरु स्टेशन निर्माण भएपछि पूर्णरुपमा सञ्चालन हुने कम्पनीको दाबी छ ।

स्टेशन निर्माणको तयारी भएको ७ वटा चार्जरबाट एकैपटक १७ वटा बसहरु चार्ज गर्न सक्नेछन् । त्यसैगरी, साझाले भित्र्याइएको बसको मर्मत सम्भार पाँच वर्षसम्म सीएचटीसी कम्पनीसँग सम्झौता गरेको छ ।


क्लिकमान्डु