शतकसहित ५ विकेट लिने खेलाडीलाई २० लाख पुरस्कार दिने डिसहोमको घोषणा
काठमाडौं । डिसहोम नेटवर्कले आइसिसी मेन्स टी २० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ । डिसहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुसी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको हो ।
मूलपानी र कीर्तिपुरमा एसियाका ८ टिमबीच जारी प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, मलेसिया र ओमान तथा समूह ‘बी’ मा बहराइन, हङकङ, यूएई र कुबेत छन् । सेमिफाइलन जित्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आइसिसी मेन्स टी २० विश्वकप कप खेल्नेछन् ।
नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ । सेमिफाइनल जिते नेपालले विश्वकपमा दोस्रोपटक सहभागिता जनाउनेछ । यसअघि नेपालले सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो ।
डिसहोमले उक्त खेलमा शतकसहित ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ । यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख, ३ विकेट लिने खेलाडीलाई १ लाख, ३५ रन बनाउने खेलाडीलाई ५० हजार र क्याच स्टम्पिङ गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कम्पनीले जनाएको छ ।