बेलायतमा ढकालले भने: नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्नुहोस्
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।
बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनमा अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक अवसर रहेको बताए ।
नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयको चर्चा गर्दै उनले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएकोतर्फ ध्यानाकर्षण गराए । अर्को छिमेकी मुलुक बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युतका लागि थप बजार सिर्जना भएको उनले उल्लेख गरे ।
अध्यक्ष ढकालले दुई ठुला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई विशेष आमन्त्रण पनि गरे ।
यसैगरी, नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उनले थप पर्यटकलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको छ ।
त्यसैले बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठुलो सम्भावना रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।
नेपालको निर्यात बजार विस्तार भइरहेको र विभिन्न मुलुकहरू सँग सहुलियतपूर्ण व्यापार सम्झौताहरूसमेत भएकाले नेपालमा निर्यात केन्द्रित लगानीको अवसर रहेकोतर्फ पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।
लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन महासंघले लगानीकर्तालाई सहयोग गर्न संरचना तयार रहेकोतर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे ।
बेलायतस्थित नेपाली दूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू र बेलायती निजी लगानीकर्ताले लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।