१० दिनमै प्याजको मूल्य किलोमा ४० रुपैयाँले बढ्यो
काठमाडौं । भारतमा प्याज महंगिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै ६० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि हुँदा नेपालमा पनि सोहीअनुसार मूल्यवृद्धि भएको पाइएको छ ।
नेपाल प्याजमा परनिर्भर छ । नेपालले विशेषगरी भारत र चीनबाट आयात गरी बजारको माग आपूर्ति गर्दै आएको छ । त्यस्तै, पछिल्ला दिनमा निर्यात गर्ने देशमा नै मूल्य वृद्धि हुँदा १० दिनको अवधिमा नेपालमा प्रतिकेजी ४० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार गत कात्तिक ४ गते भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । त्यस्तै, उक्त दिनमा औसम मूल्य ८३.५० रुपैयाँ थियो ।
तर, १० दिनको अवधिमा प्रतिकेजी ४० रुपैयाँले बढेर मंगलबार प्याजको अधिकतम मूल्य १२५ रुपैयाँ तोकेको समितिले जनाएको छ । समितिअनुसार गत कात्तिकमा ५ गते ५ रुपैयाँले बढेर अधिकतम प्याजको मूल्य ९० रुपैयाँ कायम भएको थियो । त्यसैगरी कात्तिक ६ गते प्रतिकेजी प्याजको अधिकतम मूल्य ९६ रुपैयाँ, ७ गते १ सय रुपैयाँ, ८, ९ र १० गते १०५ रुपैयाँ, ११ र १२ गते ११० रुपैयाँ र १३ गते १२० रुपैयाँ मूल्य कायम भएको थियो ।
त्यस्तै, मंगलबार प्रतिकेजी ५ रुपैयाँले बढेर प्याजको मूल्य अधिकतम मूल्य १२५ रुपैयाँ कायम भएको छ । कालीमाटीमा नै प्रतिकेजी १२५ रुपैयाँ बिक्री भइरहँदा खुद्रा बजारमा प्रतिकेजी १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ । ९० प्रतिशतभन्दा धेरै प्याज भारतबाट नै आयात हुने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँको प्याज आयात भएको थियो । जसमध्ये ६ अर्ब ७५ करोड ९ लाख २२ हजार रुपैयाँको प्याज भारतबाट नै आयात भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँको ३ करोड २२ लाख ६८ हजार केजी प्याज आयात गरेको छ । त्यसमा भारतबाट मात्रै १ अर्ब ३३ करोड १८ लाख ७५ हजार रुपैयाँको ३ करोड २० लाख ९९ हजार केजी प्याज आयात गरेको छ । त्यसपछि चीनबाट १ करोड ७३ लाख १६ हजार रुपैयाँको १ लाख ६९ हजार केजी प्याज आयात गरेको छ ।
प्याजका लागि भारतमाथि नै निर्भर रहेकाले भारतमा प्याजको मूल्यमा हुने उतारचढावले नेपालमा निरन्तर प्रभाव पार्दै आएको छ । यसपटक पनि भारतमा प्याजको मूल्यमा वृद्धि देखिँदा नेपालमा पनि यसले असर पार्ने स्पष्ट रहेको जानकारहरु बताउँछन् ।