नेपाल बैंकको सीईओ बन्न १९ प्रतिस्पर्धी, बैंककै बहालवाला र पूर्वसहित ५ जनाको आवेदन



काठमाडौं । नेपाल बैंकका कायम मुकायम सीईओ समता पन्त ‘भट्ट’, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल र जोखिम व्यवस्थापन विभाग प्रमुख सुन्दर पन्थीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका छन् ।

नेपाल बैंककै दुई जना पूर्वकर्मचारीले पनि आवेदन दिएका छन् । तिलकराज पाण्डे र राजुनाथ खनालले पनि सीईओका लागि आवेदन दिएका हुन् । पाण्डे बैंकका पूर्व चिफ म्यानेजर हुन् भने खनाल पूर्व डेपुटी सीईओ हुन् ।

नेपाल बैंकको सीईओ बन्न राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ देवेशप्रसाद लोहनी र कृषि विकास बैंकका डेपुटी जनरल मेनेजर प्रताप सुवेदीले पनि आवेदन दिएका छन् ।

सीईओको प्रतिस्पर्धामा चार्टर्ड एकाउन्टेन्ट (सीए) कृष्णप्रसाद आचार्य पनि छन् । आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्वअध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक हुन् ।

यस्तै सीईओका लागि अशोककुमार पौडेल, विभुप्रसाद अर्याल, रामदेव यादव, छपिराज पन्त, विष्णुदेव यादव, प्रमोदबाबु तिवारी, रमेशप्रसाद जोशी, शंकर केसी, सुरेन्द्रभूषण श्रेष्ठ, दीर्घबहादुर अर्याल र ध्रुवचन्द्र गौतमले पनि आवेदन दिएका छन् । आवेदन दिएका १९ जनाबाट छनौट समितिले सर्ट लिस्ट बनाएर अन्तर्वार्ताका लागि बोलाउनेछ ।

आवेदन दिएकाहरुले पेस गरेको व्यावसायिक कार्ययोजना योजना हेरेर ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनाले अन्तर्वार्तामा सहभागी हुने अवसर पाउनेछन् । पाँच जनाको व्यावसायिक योजना हेरेर क्षमतावान तीन जना मध्येबाट एक जनालाई आगामी कार्यकालका लागि सीईओमा नियुक्त गर्न सञ्चालक समितिमा पेस हुनेछ  ।


क्लिकमान्डु