युद्धग्रस्त गाजामा इन्टरनेट सेवा दिने एलन मस्कको घोषणा



काठमाडौं । अर्बपति व्यवसायी एलन मस्कले युद्धग्रस्त गाजा क्षेत्रमा स्टारलिंकको इन्टरनेट दिने घोषणा गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत गाजामा रहेका विभिन्न सहयोग संगठनहरुका लागि स्टारलिंकको इन्टरनेट उपलब्ध गराएर सहयोग गर्ने घोषणा गरेका हुन् ।

मस्कले अमेरिकी प्रतिनिधि अलेक्जेंड्रिया ओकासियो कोर्टेजले २२ लाख मानिस भएको क्षेत्रमा सञ्चार बन्द गर्नु न्यायिक नभएको भन्दै गरेको ट्विटको जवाफमा स्टारलिंकको इन्टरनेट दिने घोषणा गरेका हुन् ।

अक्टोबर ७ बाट इजरायल र हमासबीच युद्ध भइरहेको छ । इजरायलले आतंकवादी संगठनको संज्ञा दिएको हमासले उक्त दिन इजरायलमाथि हमला गरेपछि युद्ध सुरु भएको थियो । यसैबीच, हमास रहेको गाजा क्षेत्रमा इन्टरनेटदेखि अन्य सञ्चारमाध्यमलाई पनि इजरालयलले बन्द गरेको छ ।

इन्टरनेट उपलब्ध गराउने मस्कको घोषणाको विरोध भइरहेको छ । इजरायलका सञ्चारमन्त्री श्लोमो करहीले मस्कले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता संगठनका लागि इन्टरनेट दिने भन्ने घोषणाको विरोध गरेका छन् । उनले ट्विट गर्दै यसो गरेमा आतंकवादी गतिविधिका लागि इन्टरनेट प्रयोग हुने बताउँदै मस्कको घोषणाको विरोध गरेका छन् ।

यसअघि मस्कले स्टारलिंकमार्फत युद्धग्रस्त युक्रेनमा पनि इन्टरनेट दिएका थिए । रुसले युक्रेनमाथि गरेको आक्रमणको केही दिनमा नै उनले युक्रेनमा स्टारलिंकमार्फत इन्टरनेट उपलब्ध गराएका थिए । स्टारलिंक स्याटलाइटमार्फत इन्टरनेट चलाउन मिल्ने प्रविधिमा आधारित रहेको कम्पनी हो ।


क्लिकमान्डु