भारतीय अर्बपति व्यापारी अम्बानीलाई ज्यान मार्ने धम्की



एजेन्सी । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अम्बानीलाई शुक्रबार र शनिबार दुई दिन इमेलमार्फत ज्यान मार्ने धम्की आएको हो ।

अक्टोबर २७ मा इमेलमार्फत उनलाई २० करोड भारतीय रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिइएको थियो । शनिबार फेरि २ सय करोड भारतीय रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिइएको हो । इमेलमा उनलाई भारतका उत्कृष्ट हत्यारामार्फत मारिने उल्लेख छ ।

भारतीय प्रहरीका अनुसार अम्बानीलाई प्राप्त भएको इमेलमा शुक्रबार लेखिएको थियो, ‘हामीलाई २० करोड रुपैयाँ प्राप्त भएन भने तपाईंलाई मार्नेछौं । हामीसँग भारतका उत्कृष्ट सुटर (हत्यारा)हरु छन् ।’

उक्त इमेल प्राप्त भएको भोलिपल्ट फेरि सोही इमेलबाट अम्बानीलाई अर्को धम्की आएको थियो । इमेलमा लेखिएको छ, ‘हामीले पठाएको इमेलको जवाफ आएन । त्यसैले अब रकम २ सय करोड पुगेको छ । यो पैसा हामीलाई दिइएन भने डेथ वारेन्टमा सही भएको सम्झिनु ।’

अम्बानीलाई इमेल प्राप्त भएसँगै उनको सुरक्षा हेरिरहेका अधिकारीहरुले भारतको गामदेवी प्रहरीमा उजुरी दिएका थिए ।

यसअघि पनि अम्बानीलाई कयौं पटक यस्ता धम्की आएको जनाइएको छ । गत वर्ष सेप्टेम्बर २९ मा भारतको गृह मन्त्रालयले उनको सुरक्षालाई जी क्याटोगोरीबाट बढाएर जी प्लस बनाएको थियो ।

सुरक्षा खर्च भने अम्बानी आफैंले व्यहोर्दै आएका छन्, जुन मासिक ४० देखि ४५ लाख भारतीय रुपैयाँ हुने गरेको छ ।


क्लिकमान्डु