बढ्यो वैदेशिक व्यापार, आयातमा पनि वृद्धि, तीन महिनामा ३ खर्ब ६६ अर्ब व्यापार घाटा



काठमाडौं । समग्र मागमा सुधार हुँदै जाँदा वैदेशिक व्यापार बढेको छ । आर्थिक वर्ष २०७९/८० को साउनदेखि असोजसम्मका तीन महिनामा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको व्यापार भएको हो ।

समीक्षा अवधिमा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । असोजसम्ममा आयात व्यापार पनि बढेको छ । गत वर्षको सुरुवाती तीन महिनामा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएकोमा चालू आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । समीक्षा अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो ।

निर्यात व्यापारमा भने २.२६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत वर्षको साउनदेखि असोजसम्ममा ४१ अर्ब करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा चालू आवको सोही अवधिमा ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

तीन महिनामा नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ घाटाको वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ । गत वर्षको तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा भएको थियो ।


क्लिकमान्डु