एरस टुरको सफलतासँगै अर्बपतिको सूचीमा गायिका टेलर स्विफ्ट



एजेन्सी । गायिका टेलर स्विफ्ट अर्बपतिको सूचिमा समावेश भएकी छन् । ब्लुमबर्गको रिपोर्टअनुसार स्विफ्टको कुल सम्पत्ति १ अर्ब १० करोड अमेरिकी डलर (१ खर्ब ४६ कर्ब १६ करोड नेपाली रुपैयाँ) पुगेको छ ।

पप गीत गायिका टेलर यो वर्ष आफ्नो एरस टुरलाई लिएर निकै चर्चामा छिन् । पहिले विभिन्न लेबलबाट निकालिएका आफ्ना गीतको पुनः उत्पादन, ब्लकबस्टर फिल्मलगायतका कारण उनी यो वर्ष चर्चित सेलिब्रेटीमध्येमा परेकी हुन् । उनको एरस टुरले कतिपय स्थानमा त्यहाँको अर्थतन्त्रलाई नै प्रभावित पार्ने किसिमको व्यापार गराएको छ ।

३३ वर्षीया स्विफ्टको अर्बपति हुने सम्पत्तिमा उनका गीतहरुको बिक्री, स्ट्रिमिङ भएका गीतबाट हुने आम्दानी, कन्सर्टको टिकट, मर्चेन्डाइज तथा उनको व्यक्तिगत सम्पत्तिको रुपमा रहेका पाँचवटा घरहरुलाई समावेश गराइएको छ ।

टेलरले सन् २०१९ यता रिलिज गरेका गीतको हालको मूल्यांकन ४० करोड अमेरिकी डलर, कन्सर्टको टिकट र मर्चेन्डाइजको मूल्यांकन ३७ करोड अमेरिकी डलर र उनले गीतहरु स्ट्रिम भएबापत पाउने रोयल्टी, उनको घरहरुको मूल्यांकनलगायत ३१ करोड अमेरिकी डलर रहेको ब्लुमबर्गले जनाएको छ ।

यो वर्षको सुरुवातमा स्विफ्टले एरस टुर सुरु गरेकी थिइन्, जुन २०२४ नोभेम्बरसम्म चल्नेछ र विश्वका विभिन्न स्थानमा उनले कन्सर्ट गर्नेछिन् । उनको यो कार्यक्रम हालसम्मकै सबैभन्दा धेरै व्यापार भएको कन्सर्ट हो, जहाँ १ अर्बभन्दा धेरैको टिकट बिक्री भएको छ ।


क्लिकमान्डु