स्पेनी पादरीहरुले २ लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान



एजेन्सी । स्पेनमा सन् १९४० यता रोमन क्याथोलिक पादरीहरूले २ लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान गरिएको छ ।

प्रतिवेदनले कुनै खास आँकडा नदिएको तर ८ हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा स्पेनको करिब ३ करोड ९० लाख वयस्क जनसंख्यामध्ये ०.६ प्रतिशतले आफू सानै छँदा पादरीहरूबाट यौन दुर्व्यवहारको सिकार भएको बताएका हुन् ।

प्रतिवेदनको निष्कर्ष प्रस्तुत गर्न बोलाइएको पत्रकार सम्मेलनमा स्पेनका राष्ट्रिय लोकपाल एन्जेल गाबिलोन्डोले भने, ‘यसमा ४ लाखभन्दा बढी मानिसले गरेको दुर्व्यवहारलाई समावेश गरिएको छ ।’

विगत २० वर्षमा संसारभरि यौन दुर्व्यवहारका शृंखलाबद्ध घटनापछि रोमन क्याथोलिक चर्चलाई झक्झकाउने यो पछिल्लो रहस्योद्घाटन हो ।

तर, अन्य देशमा भन्दा फरक, परम्परागत क्याथोलिक देश जुन अत्यधिक धर्मनिरपेक्ष भएको स्पेनमा दुर्व्यवहारका आरोप अहिलेमात्र प्राप्त हुँदैछन् । यसअघि आरोपबाजीबाट बचेकाहरूले नै दुर्व्यवहारको आरोपहरू लगाएका छन् ।

‘दुर्भाग्यवश धेरै वर्षदेखि दुर्व्यवहारलाई अस्वीकार गर्ने वा दुर्व्यवहार गर्नेहरूलाई लुकाउन वा संरक्षण गर्ने प्रवृत्ति उजागर भएको छ,’ पूर्व शिक्षामन्त्री गाबिलोन्डोले भने ।

रिपोर्टले क्याथोलिक चर्चको मनोवृत्तिको आलोचना गरेको छ र पादरीहरूको संलग्नतामा बाल दुर्व्यवहारका घटनामा यसको प्रतिक्रियालाई ‘अपर्याप्त’ भनेको छ । यसले पीडितलाई क्षतिपूर्ति दिन राज्यकोषको गठन गर्न सिफारिस गरेको छ ।


क्लिकमान्डु