भारतले विदेशबाट किनेको बिजुलीलाई नवीकरणीय ऊर्जामा राख्ने, नेपाललाई राम्रो अवसर



काठमाडौं । भारतले देशभन्दा बाहिरका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ ।

भारतको विद्युत मन्त्रालयले कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४-२५ देखि २०२९-३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत, वितरित र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ ।

भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरु र खरिदकर्ताका लागि अनिवार्य जलविद्युत खरिद (एचपीओ)को न्यूनतम् खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्न पाउने व्यवस्था गरेको हो ।

यसअघि यस्तो एचपीओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युतमा मात्र व्यवस्था थियो । भारतले नवीकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४-२५ मा २९.९१ प्रतिशत र २०२९-३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य भेट्नुपर्नेछ ।

यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४-२५ मा ०.३८ र सन् २०२९-३० सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य भेट्नुपर्नेछ । यसका लागि ३१ मार्च २०२४ पछि सञ्चालनमा आएका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपीओको हिस्सा पुर्‍याउनैपर्ने र नपुर्‍याउने वितरण कम्पनीहरु तथा विद्युत खरिदकर्ताहरुलाई जरिवाना हुने व्यवस्था गरिएको छ ।

अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाई समेत गणना गर्न सकिने व्यवस्था छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत खरिदको नयाँ व्यवस्था व्यावहारिक रुपमा लागू भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताए ।

‘देशबाहिरका जलविद्युत आयोजनाबाट खरिद गरिएको विद्युतलाई पनि एचपीओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकोमा अहिले यसलाई समेटिएको छ, यसले भारतका विद्युत वितरण कम्पनीहरु तथा खरिदकर्तालाई जलविद्युत आयोजनाहरुको विद्युत खरिद गर्न सजिलो हुनेछ,’ घिसिङले भने, ‘यो व्यवस्था व्यावहारिक रुपमा कार्यान्वयन भएमा नेपालको जलविद्युतले भारतमा राम्रो बजार पाउनेछ ।’

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।


क्लिकमान्डु