दसैं मनाएर उपत्यका फर्कनेको चापले नाका-नाकामा बढ्न थाल्यो जाम
काठमाडौं । दसैं मनाउन काठमाडौँ उपत्यकाबाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।
नागढुंगा र साँगा नाकामा सवारी साधनको बिहीबार साँझ र शुक्रबार बिहान लामो लाम लागेको छ । यात्रुको सहजताका लागि नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन थालिएको छ । दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
दसैँको अवसरमा यो वर्ष उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।