दसैंको सात दिनमा ३५ सय मेगावाट बिजुली खेर गयो
काठमाडौं । निर्यात बढाउन नसक्दा दसैंका पछिल्लो सात दिनमा करीब ३५ सय मेगावाट बिजुली खेर गएको छ । दसैंको फुलपातिको अघिल्लो दिनबाट दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर गएको छ। उद्योगधन्दा नखुलेका कारण र उत्पादित बिजुली निर्यात समेत बढाउन नसक्दा पछिल्लो एक सातादेखि निरन्तर बिजुली खेर गइरहेको छ ।
दसैंमा उत्पादन बढेको र सो अनुसार खपत हुन नसक्दा र निर्यात समेत नबढ्दा बिजुली खेर गएको नेपाल विद्युत प्राधिरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु दसैंमा बन्द भएकोले पनि उत्पादित बिजुली खेर गएको हो । काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको छ ।
वर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुनेहुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र नीजि क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।
प्राधिकरण, यसका सहायक कम्पनीहरु र नीजि क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत खेर फाल्नु पर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।
‘दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फुलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने ।