दसैंको हवाई टिकटः घर जान महंगो परेकालाई फर्कँदा पनि महंगै !



काठमाडौं । दसैंलाई काठमाडौंबाट घर जान महंगो हवाई टिकट काटेकाहरूले फर्कँदा पनि महंगै टिकट काट्नुपर्ने भएको छ।

अघिल्लच वर्षहरुमा दसैंको लागी एकतर्फी यात्रु हुने हुँदा काठमाडौंबाट बाहिर जानेलाई महंगो टिकट काट्नु परेको थियो भने अष्टमीदेखि टीकाको दिनसम्म फर्कँदा सस्तो पर्ने गरेको थियो । तर, यस पटक भने विगतका वर्षजस्तो सस्तो दरको टिकटमा पनि वायुसेवा कम्पनीले सहुलियत दिएर अफर नल्याएका कारण तुलनात्मक रुपमा महंगै टिकटमा फर्कँनु परेको उनीहरुको भनाई छ ।

दसैंको अष्टमीदेखि टीकाको दिनसम्म काठमाडौं भित्रने यात्रु नहुँदा विगतका वर्षहरुमा जहाज खाली उडाउनुभन्दा इन्धनको मात्रै पैसा लिएर यात्रुलाई सेवा दिने गरिएको थियो । यस वर्ष भने सस्तो दरको टिकट बढी भएको हुँदा त्यसमा सहुलियत नदिएको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले भने । अघिल्ला वर्षहरुमा महंगो दरको टिकट धेरै भएका कारण सहुलियत दिने गरिन्थ्यो ।

संंसारभर नै वायुसेवा कम्पनीहरुले हवाई टिकटको मुल्य राख्दा सस्तोदेखि महंगो दरसम्मको टिकट राख्दछन् । जोशीकाअनुसार यसपटक अधिकतम सीमाको महंगो टिकटलाई कम मुल्य कायम गरेर सो भन्दा मध्यम दरको टिकटको बिक्री धेरै गरिएको छ ।

जस्तै काठमाडौंं धनगढिको टिकटको न्यूनतम मुल्य ७ हजार ९०० पर्दछ भने मध्यम दरको टिकटको ११ हजारदेखि १४ हजारसम्म पर्दछ । महंगो दरको टिकटको भने १७ हजार १८६ पर्दछ । वायुसेवा कम्पनीहरुले काठमाडौं फर्कनेलाई मध्यम दरका अर्थात ११ हजारदेखि १४ हजारसम्मका धेरै टिकट बिक्री गरेका छन् ।

वायुसेवा कम्पनीहरुकाअनुसार धनगढि काठमाडौंको नन रिफन्डेबल टिकट १२ हजार ४०० सम्म तर, १३ हजार ५०० माथिको टिकट रिफन्डेबल रहेको छ ।

अधिक महंगो दरका कम र सस्तो दरको टिकट धेरै बेचेकाले पोहोर परारको भन्दा यसपाली गत वर्षको तुलनामा हवाई टिकट अष्टमीदेखि टीकाको दिनसम्म पनि महंगो नै परेको उनले बताए ।

वायुसेवा कम्पनीले सामान्य दिनमा जस्तै टिकट उपलब्ध गराएको र दसैं अगाडिजस्तो चाप कम भएकोले अहिले यात्रा गर्नेका लागि भने हवाई टिकट महंगो नपर्ने पनि वायुसेवा कम्पनीहरुको भनाइ छ ।


क्लिकमान्डु