उपभोक्ताको रोजाइमा अब सुन होइन सिटी गोल्ड, बढ्दै छ नक्कली सुनका गहनाको माग



काठमाडौं । सुनको मूल्यले प्रत्येक दिन नयाँ उचाइ लिँदै गर्दा उपभोक्ता नक्कली सुनका गहनातर्फ आर्कषित हुन थालेका छन् । महंगो मूल्य तिरेर सुन लगाउनुको साटो सस्तो मूल्यमै डिजाइनर गहना लगाउन पाइने भएपछि उपभोक्ताको भीड नक्कली गरहनामा बढ्न थालेको हो ।

काठमाडौंको विशालबजारस्थित सुभम सिटी गोल्ड गहना पसलका संचालक मनोज पाण्डे नयाँ डिजाइनमा सस्ता गहना पाइने भएपछि किन्ने ग्राहक बढ्न थालेको बताउँछन् ।

तिज, दसैं, तिहार र मंसिर महिनाभर नक्कली गरगहना किन्ने ग्राहक बढी हुने उनको भनाइ छ । ‘पाँच बर्ष अघिसम्म पसलमा आउन पनि लजाउँथे अहिले परिवारै आएर पनि गरगहना किन्न थालेका छन्’ उनले भने ।

सुभमले २ सय रुपैयाँ देखि सात हजारसम्म पर्ने नक्कली सुनका गहनाहरु बेच्दै आएका छन् । सुभम ग्राहकलाई बेचेका गहना एक बर्ष भित्रमा खुइलिए पुन जलप लगाएर टल्काउने गर्दछन् । निशुल्क पुन टल्काइदिने भएकै कारण पनि ग्राहकको भीड बढ्न थालेको उनको ठम्याइ छ ।

त्यसो त विसालबजार क्षेत्रमै रहेका आर के सिटि गोल्ड शपका नारायण श्रेष्ठ पनि सुनको मूल्य बढेसँगै नक्कली ग्राहक खोज्न आउनेको संख्या बढेको बताउँछन् । ११ बर्षदेखि नक्कली गरगहनाको व्यपार गर्दै आएका श्रेष्ठ चाडपर्वमा गहनाको माग बढेपछि डिजाइनर गहना खोज्नेको संख्या बढ्दै गएको बताउँछन् । उनी दिनको २० हजार सम्मका गहना बिक्री गर्दै आएका छन् ।

यता सुनाचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य सुरक्षाका कारण सक्कली गहनाको साटोमा नक्कली गहना लगाउने बढेपनि त्यसले सुनको व्यापारमा भने प्रभाव नपरेको बताउँछन् । ‘लगानीको रुपमा सुन किन्ने उपभोक्ताहरु घटेको छैन,’ उनले भने ।

मनिक दैनिक २० किलो सुन बजारमा खपत भइरहेको बताउँछन् । अघिल्लो वर्ष दैनिक २० देखि ३५ किलोसम्म सुन खपत हुँदै आएकोमा यस सुनमा उपपोक्ताको भिड केहि पातलिन पुगेको उनले बताए । अध्यक्ष शाक्यका अनुसार हप्तादिन अघिसम्म सुन दैनिक १० किलो पनि बिक्री हुँदैन थियो घटस्थापना लागेसँगै सुन किन्ने ग्राहकको संख्या बढ्न थालेको उनले बताए ।

न्युरोडको श्रीगणेश ज्वेलरीका सञ्चालक रिदम प्रधान भने यस बर्ष सुनभन्दा बढी नक्कली सुन खोज्न आउनेको संख्या बढेको बताउँछन् । सुन पसलमा समेत नक्कली गरगहना खोजी गर्दै आउने ग्राहक बढेपछि सुनप्रति ग्राहकको आर्कषण घट्दै गएको बताउँछन् उनी । भन्छन्,‘पछि बेच्न सकिन्छ फाइदा कमाउने भन्ने हिसाबले किन्ने आउने बाहेक गहना लगाउनकै लागि सुन किन्ने ग्राहक घटेका छन् । ’

व्यवसायी प्रधान सुनको मूल्य बढ्दै जाँदा मध्यम वर्गीय परिवार नक्कली गहना तिर मोडिएको तर्क गर्छन् । भन्छन्,‘पहिले महिलाले थोरै भएपनि सुन लाउनै पर्छ भन्ने चलन थियो उनीहरुले नाकमा फुली नै भएपनि लगाउँथे अहिले त्यो प्रचलन पनि हराउँदै गएको छ ।,’ त्यसो त पछिल्लो समय सुन लगाउनेको जमात पनि रेडिमेड गहनातर्फ मोडिन थालेको पाइन्छ ।

नक्कली गरगहना ट्रेण्डको रुपमा फस्टाउँदै जाँदा उपभोक्तामा सुन जस्तै देखिने सिटी गोल्डका गहना रोजाइमा पर्न थालेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कठायत चाडपर्वमा सुनका गहना लगाउन असुरक्षित हुने भन्दै सकेसम्म नलगाउन आग्रहगर्दै आएको बताउँछन् । लुटपाटको घटना अन्य समयमा भन्दा बढी हुने देखेर प्रहरीले सुनका गहना नलगाउन आग्रह गर्दै आएको हो ।

प्रवक्ता कठायत पछिल्लो केहि बर्ष यता दशैमा लगाएको गहना चोरिएको घटना घट्नुमा सुन नै नलगाउने प्रचलन बढ्दै जानु पनि प्रमुख कारण रहेको औल्याउँछन् । ‘पहिले जस्तो सुन नै लगाएर लुटपाट भएका घटना धेरै देखिँदैन मानिसहरु सचेतहुँदै गएका छन् यस्ता घटनामा कमी आउनमा,’उनले भने ।


सम्झना घिमिरे