कोटेश्वर–जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने, लागत २० अर्ब



काठमाडौं । कोटेश्वर जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने भएको छ । तीनकुनेतर्फ र भक्तपुरतर्फ फ्लाइओर र विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास बन्ने भएको हो ।

यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अध्ययन सकेर प्रारम्भिक खाका सरकारलाई बुझाएको छ ।

उक्त खाकामा प्रारम्भिक लागत १३ अर्ब लाग्ने भनिए पनि जग्गा अधिग्रहणसहितको लागत २० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको सडक विभागका प्रवक्ता रामहरि पोखरेलले बताए । उनका अनुसार यो सडक खण्डमा अहिले सहजै सवजारी पास हुने व्यवस्था नहुँदा सवारी जाम बढी हुने गरेको छ ।

त्यसका लागि काठमाडौंतर्फ र ललितपुरतर्फ जाने छुट्छाछुट्टै बाटो बनाएर एउटा लेनबाट जाँदा अर्कोलाई अवरोध नहुने गरी ट्राफिक व्यवस्था मिलाउन लागिएको पनि पोखरेलले बताए ।

अन्डरपास बनेपछि चक्रपथ हुँदै कोटेश्वर चोक भएर ललितपुर जाने सवारी र भक्तपुरबाट तीनकुनेतर्फ आउने सवारीलाई अवरोध हुने छैन । जसको कारण जाम हुँदैन भने विमानस्थल अगाडिको सडकमा सवारी चापसमेत देखिँदैन ।

यसका लागि २ वर्ष लगाएर जाइकाले अध्ययन गरेको भए पनि सरकारसँग ऋण सम्झौता गरेर विस्तृत अध्ययन प्रतिवदेन बनाउनै बाँकी छ ।

यसका लागि जाइकासँग सम्झौतापछि पछि पनि निर्माणको अवधि अलग्गै हिसाब हुने भएकोले अझै केही वर्ष भने पर्खनै पर्ने हुन्छ । अहिलेसम्मको तयारी अनुसार आगामी डिसेम्बरमा सहुलियतपूर्ण ऋण सम्झौता हुने र त्यसपछि मात्रै यो सडकमा फ्लाइओभर तथा अन्डरपासको कामले गति लिने पोखरेलले बताए ।


क्लिकमान्डु