लगानी प्रवद्र्धन र विकासमा सहकार्य गर्न सुदुरपश्चिम सरकार र महासंघबीच सम्झौता




काठमाडौं । सुदुर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि संचालन गर्ने विषयमा सम्झौता भएको छ ।

शनिबार महासंघमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार प्रदेश सरकार र महासंघले सुदूर पश्चिम प्रदेशमा लगानी प्रबद्र्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पु¥याउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी फागुन २३ र २४ गते ‘सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन’ आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष ढकालले प्रतिबद्धता जनाए ।

यस्तै महासंघका अध्यक्ष ढकालले भारत र चीनमा बिजनेस समिट आयोजना गरेको र त्यहाबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशहरुमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए ।

महासंघको तेस्रो कार्यकारिणी समिति वैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसंग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक बिकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महासंघसंगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनका अवसरमा सुदुर पश्चिममा लगानीको प्रतिवद्धता आउने विश्वास पनि व्यक्त गरे । प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिवद्धता व्यक्त गरे ।

सुदुरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री नरेश शाहीले सुदुर पश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनको धारणा थियो ।


क्लिकमान्डु