बोनसको विषयमा मजदुरबाट भएको अभद्र व्यवहारप्रति चौधरी ग्रुपद्वारा निन्दा



काठमाडौं । चौधरी ग्रुपले बोनसको विषयलाई लिएर मजदुरबाट भएको अभद्र व्यवहारको कडा शब्दमा निन्दा गरेको छ । सीजी ब्रुअरी प्रालिमा बुधबार मजदुरले बोनसको विषयलाई लिएर गरेको अराजक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको चौधरी ग्रुपले जनाएको हो ।

‘देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरले अनधिकृत माग गर्दै व्यवस्थापनका अधिकारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय छन्,’ चौधरी ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गैरकानुनी क्रियाकलापको समाधान कानुनबमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराइन्छ ।’

सी जी ब्रुअरीले आफ्ना मजदुर/कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । ‘विगतमा समग्र औद्योगिक सम्बन्ध बिग्रिएको अवस्थामा पनि सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबीचको सौहार्द्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सीजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा विगत वर्षहरुमा ६ महिनासम्मको बोनस वितरण गरेको दाबी गरेको छ । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सीजी ब्रुअरीमा पनि परेको र अघिल्लो वर्षको तुलनामा उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको कम्पनीले जनाएको छ ।

‘यस्तो अवस्थामा कम्पनीले मजदुर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनीय छ ।’

आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेलगायतका अराजक गतिविधि सैह्य नहुने चौधरी ग्रुपले जनाएको छ ।

चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेसन्स विभागले जारी गरेको विज्ञप्तिमा देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमता ८० प्रतिशतसम्मले गिरावट आएको र यसले देशको बिग्रँदो औद्योगिक अवस्थाको चित्र सबैको सामु ल्याइदिएको उल्लेख छ ।

‘यस पृष्ठभूमिमा देशमा औद्योगिक सम्बन्ध खराब अवस्थातर्फ उन्मुख रहेको स्पष्ट हुन्छ र भविष्यमा देशमा औद्योगिक उत्पादनमा योगदान पुर्‍याएका उद्यमी थप समस्यामा पर्नेछन् भन्ने पनि देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्तो परिस्थितीप्रति गम्भीर बन्न, औद्योगिक सम्बन्धलाई सुमधुर कायम राख्न, उच्छृंखल गतिविधिलाई कानुनी दायरामा ल्याउन र कठिन परिस्थितिमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका उद्यमीको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउन सम्बन्धित निकायहरू गम्भीर बन्न जरूरी छ ।’

हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितlलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन पनि चौधरी ग्रुपले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ ।


क्लिकमान्डु