दुई खर्ब लगानी प्रतिबद्धता आउँदा १ खर्बभन्दा बढी विद्युतमा, २३ हजारलाई रोजगारी



काठमाडौं । गत आर्थिक वर्षमा २ खर्ब बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा स्वदेशी र विदेशी लगानी गरी ३२३ वटा उद्योग दर्ता भई २ खर्ब १४ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ प्रतिबद्धता आएको छ ।

गत वर्ष २ खर्बभन्दा बढी लगानी प्रतिबद्धता जनाउँदा विद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी आएको तथ्यांकले देखाउँछ । विभागमा दर्ता भएका ४५ वटा विद्युत आयोजनाका लागि १ खर्ब १२ अर्ब ६८ करोड २२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

जलविद्युत क्षेत्रमा निकै सम्भावना देखिएपछि निजी क्षेत्रका लगानीकर्ताले यस क्षेत्रमा लगानी बढाउँदै गएका छन् । जलविद्युतपछि गत वर्ष उत्पादन क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार गत वर्ष ११४ वटा उद्योग दर्ता भई ४१ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आइको हो ।

सेवा क्षेत्रमा ६६ वटा उद्योग दर्ता हुँदा ३० अर्ब ८२ करोड ३३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रमा ६७ वटा उद्योगका लागि २५ अर्ब २७ करोड ४५ लाख, कृषि क्षेत्रमा १० वटा उद्योगका लागि १ अर्ब ६७ करोड ८२ लाख, सूचना प्रविधि क्षेत्रका १६ वटा उद्योगका लागि १ अर्ब ७ करोड २४ लाख, खनिज क्षेत्रका ४ उद्योगका लागि ७६ करोड ४७ लाख र निर्माण क्षेत्रको एउटा उद्योगका लागि १३ करोड ३१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागको तथ्यांकअनुसार उक्त ३२३ वटा उद्योगबाट २३ हजार ३६७ जनाले रोजगारी पाउनेछन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादन क्षेत्रका उद्योगमा रोजगारी सिर्जना हुनेछ । उक्त क्षेत्रमा मात्रै  १० हजार १०२ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

त्यसैगरी, पर्यटन क्षेत्रमा ५ हजार ३७ जना, सेवा क्षेत्रमा ४ हजार १९९ जना, ऊर्जा क्षेत्रमा २ हजार ३२१ जना, सूचना प्रविधिमा ८९६ जना, कृषि क्षेत्रमा ५९९ जना,  खनिज क्षेत्रमा १७३ जना र निर्माण क्षेत्रमा ४० रोजगारी सिर्जना हुनेछ ।


क्लिकमान्डु