अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगति ६६%, प्रसारणलाइन निर्माण सुस्त
काठमाडौं । संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फको प्रगति १५.४६ प्रतिशत रहेको छ ।
परियोजना निर्माणका क्रममा परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी–दिदिङ्गको २४ किलोमिटर सडकखण्डमा देखिएको समस्याका बाबजुत पनि परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फको प्रगति १५.४६ प्रतिशत भएको लगानी बोर्डले जनाइको छ ।
उक्त सडकखण्डमा समस्या देखिएपछि समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गरिने भएको छ ।
आज बसेको बोर्डको ५६औं बैठकले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी–दिदिङ्ग सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
परियोजना विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेटले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको छ ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा ५५औँ बोर्ड बैठकको निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा जानकारी गराएका छन् । उनले परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिंगो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले अरुण तेश्रो जलविद्युत परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको भन्दै विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।
उनले प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकुल वातावरण रहेको सन्देश प्रवाहित हुने भएकाले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकणका लागि सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढंगले काम गर्न निर्देशन समेत दिए ।