सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थप नयाँ सुविधा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको जनाएको छ।

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्यउपयोगी सेवाहरु समेत थप गरेको जनाएको छ ।

अब ग्राहकले मोवाइल बैंकिङ एप मार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु थप पाउने छन् ।

बैंकले आफ्ना बिशेष ग्राहकलाई लक्षित गरी मोबाइल मार्फत नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्ने जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ यूआईमा अपग्रेड गरिएको छ जसले प्रयोगकर्ताको अनुभव बढाउने बैंकले जनाएको छ । लगइन मेनु पनि पुन संगठित गरिएको छ जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।

लागू गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपालपे को क्युआर मार्फत व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू जस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु