एनआरएनएलाई राष्ट्रपतिले भने- नेपालमा अपार सम्भावना छ, लगानी बढाउनुस्



काठमाडैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना भएको बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरु भएको गैरआवासीय नेपाल संघ (एनआरएनए)को चुनावी अधिवेशन उद्घाटनका क्रममा राष्ट्रपति पौडेलले शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रविधि, ऊर्जा र पर्यटनमा अपार सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।

नेपालमा रहेको सम्भावनालाई उजागर गर्न स्वदेशी लगानीले मात्र नपुग्ने र विदेशी लगानी नै ल्याउनुपर्ने बताए । ‘सम्भावित क्षेत्रमा बहुपक्षीय साझेदारी आवश्यक छ,’ उनले भने, ‘विदेशमा सिकेको ज्ञान, सीप र क्षमता स्वदेशमा भित्र्याउनुपर्छ ।’

विदेशमा बसेर नेपालीले श्रम गरेर पठाएको पैसाले भुक्तानी सन्तुलनमा सहयोग गरेको राष्ट्रपति पौडेलले बताए । नेपालको आन्तरिक क्षमता प्रयोग गरेर देश बनाउन सके विदेशमा रहे पनि शिर उँचो हुने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय जगतमा देशको छवि उँचो बनाउन पनि तपाईंहरुले ठूलो लगानी भित्र्याउन पहल गर्नुपर्छ,’ उनले भने ।

विश्वको जुनसुकै कुनामा भए पनि नेपाली नेपाली नै हुने राष्ट्रपति पौडेलको भनाइ छ । राजनीतिक परिवर्तनपश्चात् देश आर्थिक विकासमा लागेको भन्दै उनले राजनीतिक संक्रमणकाल बढेका कारण आर्थिक विकास हुन नसकेको बताए । विदेशमा बस्दा नयाँ पुस्ताले भाषा संस्कृति बिर्सिन सक्ने भएकाले नेपालमा ल्याएर भूगोलसँग परिचित गराउन पनि राष्ट्रपतिले आग्रह गरे ।


क्लिकमान्डु