
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘नेपाल पुँजीबजार विकास मार्गचित्र २०८३’ सार्वजनिक गरेको छ । धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएर आएसँगै उनले यस मार्गचित्र तय गर्ने कार्यमा जुटेका थिए । तर, मंगलबार सेयर बजार धरासयी भएको भन्दै लगानीकर्ता बोर्डमा घेराउ नै गर्न पुगेपछि बोर्डले मार्गचित्र सार्वजनिक गरेको हो ।
जसमा बोर्डले आगामी चरणको चुनौती बजारको आकार बढाउनु मात्र नभई यसको गुणस्तरीय विकास गर्नु रहेको उल्लेख गरेको छ । उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व विस्तार, संस्थागत ऋणपत्र बजारको विकास, नयाँ वित्तीय उपकरणको शुरुवात, संस्थागत तथा विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण र सुशासन तथा प्रविधिको थप सुदृढीकरणमार्फत मात्र नेपालको पूँजी बजारलाई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रभावकारी साधनका रूपमा स्थापित गर्न सकिने विषय बोर्डले आफ्नो मार्गचित्रमा जनाएको छ ।
धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेड नेपालको पुँजी बजारका तीन आधारभूत संस्थागत स्तम्भ रहेको तथा यी संस्थाहरूले पछिल्ला तीन दशकमा बजारको संस्थागत विकास, डिजिटल रूपान्तरण, लगानीकर्ता पहुँच विस्तार तथा कारोवारको पारदर्शितामा महत्वपूर्ण योगदान दिएको बोर्डको तर्क छ ।
‘२०२६ को लक्ष्य हासिल गर्न यी संस्थाहरूलाई अझ बढी स्वायत्त, प्रविधिमैत्री, अन्तर्राष्ट्रिय मापदण्डअनुकूल र परिणाममुखी बनाउन आवश्यक छ,’ मार्गचित्रमा भनिएको छ, ‘जोखिम आधारित नियमन, आधुनिक बजार निगरानी, द्रुत सेटलमेन्ट प्रणाली, नयाँ वित्तीय उपकरणहरूको विकास तथा अन्तर्राष्ट्रिय बजारसँग क्रमिक एकीकरण आगामी दशकका प्रमुख प्राथमिकता हुनुपर्छ ।’
मर्चेन्ट बैंकर, धितोपत्र दलाल, निक्षेप सदस्य, क्रेडिट रेटिङ्ग संस्था, निष्कासन तथा बिक्री प्रबन्धक तथा पोर्टफोलियो व्यवस्थापकहरूले नेपालको पूँजी बजारको सञ्चालन, पूँजी परिचालन तथा लगानीकर्ता सेवामा महत्वपूर्ण योगदान दिएको बोर्डमा उल्लेख छ ।
यद्यपि, अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी पुँजी बजार निर्माण गर्न यी संस्थाहरूको क्षमता, सेवा विविधीकरण, प्राविधिक आधुनिकीकरण तथा व्यवसायिक दक्षतामा उल्लेखनीय सुधार आवश्यक रहेको बताइएको छ । ‘आगामी दशकमा यिनीहरूलाई केवल कारोबार सहजीकरण गर्ने संस्थाका रूपमा मात्र होइन, लगानी बैंकिङ, सम्पत्ति व्यवस्थापन, परियोजना वित्त, अनुसन्धान तथा नवप्रवर्तन वित्तका प्रमुख साझेदारका रूपमा विकास गर्नु नेपालको पुँजी बजारको गुणात्मक रूपान्तरणका लागि अत्यावश्यक हुनेछ,’ बोर्डले मार्ग चित्रमा भनेको छ ।
नेपालको पूँजी बजारको संस्थागत संरचनाले आधुनिक वित्तीय प्रणालीको आधार तयार गरिसकेको र अबको आवश्यकता संरचना विस्तारभन्दा बढी संरचनाको गुणस्तरीय सुदृढीकरण भएको बताइएको छ । संस्थागत लगानीकर्ताको भूमिका बढाउने, लगानी उपकरणहरूको विविधीकरण गर्ने, प्रविधिमैत्री बजार पूर्वाधार विकास गर्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नियमन लागू गर्ने कार्यले मात्र नेपालको पुँजी बजारलाई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रभावकारी साधन बनाउन सकिने जनाइएको छ ।
धितोपत्र बोर्डले उल्लेख गरेका विद्यमान चुनौती र प्राथमिकताहरु
नेपाल धितोपत्र बजारले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरे पनि यसको दिगो विकासका लागि केही महत्वपूर्ण चुनौतीहरू अझै समाधान हुन बाँकी रहेको उल्लेख गरेको छ । सूचीकृत कम्पनीहरूको क्षेत्रगत विविधता पर्याप्त नभएको र उत्पादनमूलक उद्योगहरूको प्रतिनिधित्व बढाउन आवश्यक रहेको औंल्याइएको छ ।
भविष्यमा हुने कारोबारको बजार सञ्चालन गर्ने व्यवस्था अझै कार्यान्वयनमा आउन नसकेको, धितोपत्र सापटी लिएर बिक्री गर्ने, धितोपत्र सापटी दिने–लिने, एउटै कारोबार दिनभित्र खरिद–बिक्री गर्ने तथा बोलकबोलमार्फत हुने कारोबारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बोर्डले आफ्नो मार्गचित्रमा उल्लेख गरेको छ ।
साना तथा मझौला उद्यमका लागि छुट्टै कारोबार मञ्च, वैकल्पिक कारोबार मञ्च, घरजग्गा लगानी कोष तथा स्थानीय तहका ऋणपत्र कारोबारका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने अवस्था रहेको तथा विदेशी लगानीकर्तालाई पुँजी बजारमा आकर्षित गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ ।
बजारमा उपलब्ध तरलताको समान वितरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको तथा अत्यधिक मूल्य उतारचढावलाई सन्तुलित बनाउने चुनौती पनि विद्यमान रहेको बोर्डले जनाएको छ । अब यी चुनौतिहरुलाई समाधान गर्ने ढंगमा काम गर्ने योजना बोर्डको छ ।
नेपाल धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी, पारदर्शी र प्रभावकारी बनाउन कारोबार प्रणाली तथा सूचकाङ्क गणना पद्धतिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्न आवश्यक रहेको जनाइएको छ ।
साना तथा मझौला उद्यमका लागि छुट्टै कारोबार मञ्च स्थापना गर्नुपर्ने आवश्यकता रहेको, भविष्यमा हुने कारोबारको बजार विकास गरी लगानीकर्तालाई जोखिम व्यवस्थापनका थप अवसर उपलब्ध गराउनुपर्ने तथा संस्थागत ऋणपत्र कारोबारका लागि छुट्टै कारोबार प्रणाली विकास गर्न आवश्यक रहेको पनि बोर्डले जनाएको छ ।
हरित परियोजनामा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले हरित ऋणपत्र सूचीकरण प्रणालीको विकास गर्नुपर्ने, अन्तर्राष्ट्रिय सूचीकरण मापदण्ड अपनाई बजारलाई विश्वस्तरीय बनाउनुपर्ने आवश्यकता रहेको, विभिन्न क्षेत्रगत सूचकांक, वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी सूचकांक र साना तथा मझौला उद्यमसम्बन्धी सूचकांक विकास गर्नुपर्ने पनि बोर्डले उल्लेख गरेको छ ।
दोस्रो बजारको कारोबार गहिराइ बढाई बजारलाई थप सक्रिय र तरल बनाउन आवश्यक, सूचना प्रवाहलाई अझ पारदर्शी, समयमै र विश्वसनीय बनाइनुपर्ने, धितोपत्र धितोमा राखी गरिने कारोबारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, वैकल्पिक कारोबार मञ्चको विकास गरी पुँजी बजारको दायरा र पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि मार्गचित्रमा बोर्डले उल्लेख गरेको छ ।






प्रतिक्रिया