आजदेखि भरी सिलिण्डर ग्यास बिक्री: भण्डारण क्षमता अभावले आपूर्तिमा चुनौती


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको एलपी ग्यासको आपूर्ति असहजता हटाउन फेरि १४.२ केजीकै सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव कृष्णबहादुर राउतले आपूर्ति प्रणालीलाई सहज बनाउन र ढुवानी लागत घटाउन यस्तो निर्णय गरिएको स्पष्ट पारे ।

यसअघि दक्षिण एसिया र रुस–युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण सिर्जना भएको मनोवैज्ञानिक त्रास र अभावलाई मध्यनजर गर्दै मन्त्रालयले ७.१ केजीको आधा सिलिण्डर वितरण गर्ने निर्णय गरेको थियो ।

वि.सं. २०७२ सालको नाकाबन्दीको अभ्यासलाई पछ्याउँदै आपूर्तिलाई व्यवस्थित गर्न उक्त कदम चालिएको भएपनि हाल ढुवानी भाडामा वृद्धि, उपभोक्ताको माग र औद्योगिक जनशक्तिको खर्च बढेका कारण पुनः पूर्ण तौलकै सिलिण्डर विक्री गर्ने निर्णयमा पुगिएको सचिव राउतले बताए।

सचिव राउतकाअनुसार नेपाल आयल निगमले अहिले पनि एलपी ग्यासमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ । इण्डियन आयल कर्पोरेसनबाट जुलाई २०२४ मा प्राप्त मूल्यसूचीअनुसार निगमलाई प्रतिसिलिण्डर ९३६ रुपैयाँ ९८ पैसा घाटा रहेको छ । यसअघि यो घाटा प्रतिसिलिन्डर १ हजार १ सय ७३ रुपैयाँसम्म पुगेको थियो ।

ग्यासमा नेपाल सरकारले सिधै अनुदान उपलब्ध नगराएको स्पष्ट पार्दै सचिव राउतले निगमले अन्य पेट्रोलियम पदार्थको नाफाबाट ग्यासको घाटा पूर्ति (क्रस सब्सिडाइज) गरिरहेको जानकारी दिए । पछिल्लो तीन–चार महिनामा मात्रै मूल्य स्थिरीकरण कोष र सञ्चित नाफाबाट करिब ३६ अर्ब रुपैयाँ खर्च भएको उनले उल्लेख गरे । हाल बजारमा ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ कायम छ ।

मन्त्रालयका अनुसार हाल मुलुकभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन्, जसको दैनिक सिलिन्डर भर्ने क्षमता १ लाख ६२ हजार रहेको छ । बजारमा दैनिक औसत १ लाख १० हजार सिलिण्डर बिक्री भइरहेको छ । उद्योगहरूको कूल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको र नेपाल आयल निगमको आफ्नै भण्डारण क्षमता नहुँदा आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको सचिव राउतको भनाइ छ ।

सचिव राउतले भने, ‘हालको तथ्यांक अनुसार मासिक मागको तुलनामा १७ हजार, १४ हजार र १० हजार मेट्रिक टनसम्म कम ग्यास आपूर्ति भइरहेको छ । यसले नजिकिँदै गरेका चाडपर्व तथा जाडो याममा ग्यासको खपत बढ्ने समयमा आपूर्तिमा थप समस्या आउन सक्ने चिन्ता उत्पन्न भएको छ ।’

हाल उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको छ भने नेपाल आयल निगमसँग आफ्नै भण्डारण सुविधा छैन ।

करिव ७०० ग्यास बुलेट ट्रान्जिट तथा स्ट्यान्डबाइमा रोकिँदा भारतबाट हुने लोडिङ प्रक्रियामा समेत असर परेको छ । वर्षायामलाई मध्यनजर गर्दै केही पहाडी जिल्लाबाट १४.२ केजी ग्यासको आपूर्तिको माग उल्लेखनीय रूपमा बढेको सचिव राउतले जानकारी गराए ।