ठूलो खोला हाइड्रोमा सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास र माछापुच्छ्रे बैंकको लगानी



काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो । आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ ।

असोज २९ गते सोमबार भएको लगानीसम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्रबल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम/पूर्वाधार बैंकिङ एकाइ प्रमुख रोशन मल्लले हस्ताक्षर गरेका छन् । आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।

ठूलो खोला हाइड्रोपावर माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणाधीन छ । आयोजनाको ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष पन्तले बताएका छन् । २०८२ साल असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए पनि त्योभन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रसारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए ।

ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्को आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी छ । टक्सार पिखुवा हाइड्रोपावर २ वर्षअघि नै सम्पन्न भई विद्युत उत्पादन गरिरहेको कम्पनी हो । कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावरले आईपीओ जारी गर्न सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंक हरि अधिकारी, विश्वबन्धु भट्टराई, माछापुच्छ्रे बैंकका अनिल सिवाकोटी तथा आयोजना कम्पनीका चिफ अपरेटिङ अफिसर नवीन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवडा र सिभिल इन्जिनिय प्रमुख सिवसागर यादवको उपस्थिति थियो ।


क्लिकमान्डु