दसैं लागेसँगै बजारमा भीड तर व्यापारी भन्छन्: व्यापार छैन



काठमाडौं । दसैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दसैंको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्‍न थालेको छ।

काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लाग्न थालेको छ ।

विगतको वर्षहरुमा जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर दसैंको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाइ छ ।

बजारमा आर्थिक मन्दीको प्रभाव देखिएको छ । ग्राहकहरुको क्रय शक्ति कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए।

उनीहरुले दसैं लागेसँगै व्यापार बढेको थालेको पनि बताए । सरकारी छुट्टी सुरु भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए ।

आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दसैंमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाइ छ ।

व्यापारीहरुले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपाथमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भए पनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए ।

आर्थिक मन्दीको कारण मानिसहरुको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको उनको भनाइ छ । क्रयशक्ति कम भएकाले दसैंमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उनले बताए ।

पूर्वअध्यक्ष कटुवालले यो वर्षको दसैंमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताए ।

दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको भए पनि आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताए ।

होलसेल बजारमा सामान खरिद गर्नेहरुको भने चहलपहल रहेको उनको भनाइ छ ।

‘न्युरोड लगायतका होलसेल बजारमाबाट दसैंका लागि सामानहरु बाहिर गएको छ । तर खुद्रा बजारमा सुनसान जस्तै छ । मानिसहरुको रोजगारी समेत गुमेकाले तल्लो तहका मानिसहरुसँग पैसा छैन । आर्थिक मन्दिको कारणले दसैंमा हुनुपर्ने उत्साह देखिएको छैन,’ उनले भने,’ होलसेल बजारमा व्यापार केही वृद्धि भएकाले व्यापार वृद्धि हुने थारै आश पलाएको छ । क्रयशक्ति कम भएकाले दशैंमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको छैन । यो वर्षको दशैंमा करिब ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापना देखि फुलपातीको दिनसम्म हेर्न बाँकी छ । दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेका छन् ।’

राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए ।

उनले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताए ।

न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरु बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताए । उनले पसलका सामानहरु ‘सेल’मा राखेपछि ग्राहकहरुको भीड देखिएको बताए ।

मन्दीका कारण ग्राहकहरुले सस्तो सामान बढी खोजिरहेको उनले बताए । व्यापारीहरुले आफूसँग भएको सामान दसैंमा सेलमा राखेर स्टक सक्ने दसैंपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको उनको भनाइ छ ।

मन्दी र युवाहरु विदेसिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको दाबी गर्नु भयो । त्यस्तै,न्युरोडका व्यापारी वैकुण्ठ दाहालले खुद्रा बजारमा विगतका वर्षहरुको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको उनले बताए ।

सियो किन्न समेत न्युरोड लगायतका क्षेत्रमा मानिसहरु आउने परिपाटी रहेकाले बजारमा भीड देखिएको भए पनि भीडअनुसार व्यापार नभएको उनले बताए ।

व्यापारीहरुले बजारमा व्यापार नभएको भने पनि गत शनिबारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको किनमेल गर्ने भीडभाड बढेको छ । किनमेल गर्नेहरुको भीडभाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरुमा सवारी साधनको समेत चाप देखिएको छ ।


क्लिकमान्डु