आजबाट ठूला सवारीसाधन काठमाडौं प्रवेशमा रोक



काठमाडौं । सरकारले अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधन सञ्चालनमा गर्न रोक लगाएको छ । सरकारले आज (शुक्रबार) देखि कात्तिक ८ गतेसम्म नारायणगढदेखि काठमाडौसम्म सञ्चालन हुने ठूला सवारी साधनमा रोक लगाएको हो।

सरकारले यात्रुलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले उक्त सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको यातायात व्यवस्था विभागले जनाएको छ ।

‘नारायणगढ देखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरोकोमा यात्रुलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले उक्त सडक खण्डमा उल्लेखित सवारीहरु २०८० साल असोज २६ गतेदेखि कार्तिक ८ गतेसम्म उपत्यकामा प्रवेश गर्न प्रवेश विन्दुमा रोक लगाउने निर्णय गरेको छ,’ जारी सूचनामा उल्लेख छ ।

दसैं, तिहार र छठ पर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरका जिल्लाहरुबाट काठमाडौं उपत्यकामा प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउने सम्बन्धमा सरकारले गत आसेज २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरिएकोमा असोज २६ गतेदेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ । तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने विभागको भनाइ छ ।


क्लिकमान्डु