नवलपरासीको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, चौधरीले गरे उदघाट्न



नवलपरासी । बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ ।

चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो । शनिबार प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउनेछन् ।

नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने जोड दिँदै आएका छन् । चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।

सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निः शुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ ।

निर्वाचनका बेला यहाँका नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्यसेवाको व्यवस्था गर्ने घोषणा गरेका नेता चौधरीले नवलपरासीमा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका छन् ।

सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाएका छन् । उनले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुले अवरोध गरेको उल्लेख गर्दै आफू यसअभियानबाट पछाडि नहट्ने प्रतिवद्धता जनाए । ‘यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,’ उनले भने, ‘ट्रमा सेन्टर बनाउन यहाँका केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।’

बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताए ।

सांसद चौधरीकै पहलमा सरकारले चिसापानी अस्पतालसहितह नवलपरासी १ का तीन वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । यसअघि चिसापानी अस्पतालमा टोकन प्रणालीबाट सेवा लिने व्यवस्था सुरु भइसकेको छ ।


क्लिकमान्डु