मनाङ एयरको हेलिकप्टर दुर्घटनाः छानविन गर्न समिति गठन
काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएपछि छानविन गर्न चार सदस्यीय समिति गठन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानविन गर्न समिति गठन गरेको हो । शनिबार बिहान ७ः३० बजे सोलुखुम्बु जिल्लाको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए ।
दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्ने गठित समितिको प्रतिवेदन पछि मात्रै थाहा हुुनेछ ।