सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रबलजंग पाण्डेलाई निर्वाचित भएका छन् । बैंकको १७औं वार्षिक साधारणसभा पश्चात शुक्रबार नै बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई अध्यक्ष निर्वाचित गरेको हो ।

पाण्डे यसअघि बैंकको सञ्चालक थिए । पाण्डे मर्जर तथा एक्विजिसन समितिको सदस्य भएका बेला बैंकले तिनाउ मिसन विकास बैंक, सिर्जना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो ।

बैंकको संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष पाण्डे सिटिजन्स बैंकका प्रमुख लगानीकर्ता हुन् । इन्जिनियरिङ संकायमा स्नातक गरेका उनी दुई दशकभन्दा लामो समयदेखि सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय छन् ।

नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

वार्षिक साधारण सभाबाट सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन् ।

सिटिजन्स बैंकले देशभरका १८८ शाखा, १४८ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्डलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु