यति एयरलायन्सका अध्यक्ष शेर्पाको लक्जरियस रिसोर्ट सञ्चालनमा आउँदै, डेढ अर्ब लगानी



काठमाडौं । यति एयरलायन्सको कार्यकारिणी अध्यक्ष लाक्पा सोनम शेर्पाको लगानीमा निर्माण भइरहेको लक्जरियस रिसोर्ट आगामी डिसेम्बरबाट सञ्चालनमा आउने भएको छ । करिब डेढ अर्ब लगानीमा निर्माण भएको लक्जरियस ‘शिन्ता मनी मुस्ताङ’ होटल आगामी डिसेम्बरबाट सञ्चालनमा आउने भएको हो ।

मुस्ताङ माउन्टेन होम लिमिटेडले निर्माण गरिरहेको रिसोर्टमा १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ लागत लागेको छ ।

उक्त लक्जरियस रिसोर्ट डिसेम्बरदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउन कम्पनीले ६६ करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीले ६५ करोड १० लाख रुपैयाँ दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँ गरी ६६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

शिन्ता मनी मुस्ताङ रिसोर्ट सन् २०२३ को जुलाइमा पब्लिक कम्पनीमा परिणत भएको हो । आगामी डिसेम्बरदेखि सञ्चालन गर्ने तयारीमा रहेको लक्जरियस रिसोर्ट ३५ हजार १०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

रिसोर्टमा २९ वटा सुइट रुम हुनेछन् । मुस्ताङको मार्फामा रहेको रिसोर्टमा विभिन्न सुविधा हुनेछ । रिसोर्टमा फुड एण्ड बेभरेज सेवा, ट्रेकिङ, हर्स राइडिङ, रक क्लाइम्बिङ, साइकलिङ, अर्कारी, हाइकिङ, हेलिकप्टर टुर, वेलनेस र अन्य सुविधा हुनेछ ।

रिसोर्ट सन् २०२२ को अन्त्यमा मोक्क्ष मुस्ताङ रिसोर्ट नाममा सञ्चालनमा आएको थियो । पछि शिन्ता मनी होटलसँग सम्झौता गरेर नाम परिवर्तन गरेको कम्पनीले जनाएको छ ।

रिसोर्टको अध्यक्ष लाक्पा सोनाम शेर्पा हुन् । शेर्पा सन् १९८५ देखि पर्यटन क्षेत्रमा संलग्न छन् । कम्पनीले बैंकक बेस्ड अन्तर्राष्ट्रिय ब्रान्ड शिन्ता मनी होटलसँग होटल व्यवस्थापनको सम्झौता गरेको छ । शिन्ता मनी होटल बिल बेन्स्लेद्वारा डिजाइन गरिएको लक्जरी बुटिक होटल हो ।

होटल व्यवस्थापनको सम्झौता भएसँगै मुस्ताङ माउन्टेनले अन्तर्राष्ट्रिय स्तरको सुविधा दिनेछ । साथै, शिन्ता मनीले बुकिङको पनि कार्य गर्दै आएको छ । जसले गर्दा होटलले बुकिङ सेवा। अन्य सेवा र मार्केटिङको पनि कार्य गर्दै आएको छ ।

नेपालले चालु आर्थिक वर्षको बजेटमार्फत् पर्यटन क्षेत्रलाई विकास गर्ने नीति लिएको छ । आर्थिक विकासको प्रमुख क्षेत्र रहेको पर्यटनमा चालु आवको बजेटमार्फत् ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाले गर्दा अस्तव्यस्त बनेको पर्यटन क्षेत्र कोभिडपछि रिबाउन्ड हुँदै गएको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा ६ लाखभन्दा बढी पर्यटन भित्रिएका छन् ।


क्लिकमान्डु