रमेश कर्प लिट्मस इन्डष्ट्रिले एकै वर्ष गर्‍यो ४ अर्बको व्यापार



काठमाडौं । रमेश कर्पद्वारा सञ्चालित लिट्मस इन्डष्ट्रिले एकै वर्ष करिब ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ८५ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३८ करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२३ मा ६२ प्रतिशतले आम्दानी बढेको छ । साथै, कम्पनीले सन् २०२१ मा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् १९७८ मा तार र केबल उत्पादन गर्नका लागि स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रालि सन् २०२२ मा लिट्मस इन्डष्ट्रिमा नाम परिणत गरेको थियो । कम्पनी आइएओ ९००१:२०१५ को इजाजतप्राप्त कम्पनी हो ।

कम्पनीले वार्षिक ११ हजार किलोमिटरको एबीसी केबल, ६७ हजार ७५० किलोमिटरको एसीएसआर कन्डक्टर, २ हजार किलोमिटरको कन्सेट्रिक केबल, हाउजिङ वायरिङका लागि २५ लाख ३९ हजार ५७० कोयल, इनामेल वायर/सेकका लागि १३ हजार ५ सय मिटर, ३ सय मिटर पेपर इन्सल्टेड स्ट्रिप ४५ हजार किलोमिटरको लो भोल्टेज पावर केबल उत्पादन क्षमता रहेको छ ।

कम्पनीले आन्तरिक बजारमा लिटमस केबल र लोटस वायर उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । सुशील गुप्ताको ४८.७८ प्रतिशत र रोही गुप्ताको ४९.७८ प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ४ अर्ब ९७ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ अर्थात् एफोर प्लस रेटिङ गराएको छ ।

कम्पनीले एसीएसआर कन्डक्टर र एबीसी केबलसँगै घरायसी सामग्री, व्यवसायिक बिल्डिङ, हस्पिटल र विभिन्न उद्योगका लागि आवश्यक सामग्री उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै, कम्पनीले विभिन्न मोटर्स, ट्रान्स्फर्मर, इलेक्ट्रिकल इक्वीपमेन्ट र अन्य सामग्रीमा प्रयोग हुने इनामेल कपर वायर उत्पादन गर्दै आएको छ ।

त्यसैगरी, कम्पनीले हालै मात्र इको वायर–एच सार्वजनिक गरेको छ । उक्त तार नेपालको पहिलो ‘जेरो हलोगेन’ वायर रहेको कम्पनीको भनाइ छ । कम्पनीको देशभर १४३ वटा दर्ता गरिएको वितरक छन् ।


क्लिकमान्डु