कोरियन उपप्रधानमन्त्रीलाई अर्थमन्त्री महतले सुनाए नेपालमा सफल वैदेशिक लगानीको कथा



मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका मन्त्री महतले कोरियाली उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग साइडलाइनमा वार्ता गरेका थिए ।

कोरियाका अर्थमन्त्री चु क्यूङ होसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका थिए ।

‘नेपाल लगानी गरेका भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुर्राष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आइटीसी इण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने, ‘हामीहरुले चालु आर्थिक वर्षको बजेटमार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’

नेपाल सरकारले इज अफ डुइङ बिजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए ।

‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’

नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरेका हुन् ।

‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनुहुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’

मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।

भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थमा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताएका थिए ।

उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे ।
जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेका थिए ।

उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गरे ।

अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानून राम्रो भएको भन्दै प्रशसा गरेका थिए । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जिवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगति गरे पनि कमजोर प्रशारण लाइनले जलविद्युत क्षेत्रबाट प्रायाप्त लाभ लिन नसकेकाले नेपालको प्रशारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरेका थिए ।

बैठकका क्रममा केरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वर्ल्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरे ।

इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
जवाफमा मन्त्री महचले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई मन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरेका थिए ।

कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतले बताएका हुन् ।

‘कोरियाबाट एउटा मात्रै वायुसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने, ‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेका छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’

नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रहपछि कोरियाका उपप्रधान तथा अर्थमन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषय पुर्याउने बचन दिएका थिए ।

‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भने, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउने छु ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतिले लामो समयदेखि कोरियन एयरको भाडादर महँगो भएको विषय उठाउँदै आएका छन् ।

नेपाल वायु सेवा निगमले सन् २०१८ मा कोरियाको राजधानी सोलमा सिधा उडान अनुमति माग्दै निवेदन दिए पनि कोरियाको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन ।


शरद ओझा