डिपार्टमेन्टल स्टोरमा काम गर्ने निर्मल अमेरिकी सेना हुँदै यसरी बने माइक्रोसफ्टका सिनियर डेटा साइन्टिस्ट



काठमाडौं । हातमा हरियो पासपोर्ट बोकेर किशोरावस्थामै अमेरिकातर्फ लाग्दै गर्दा निर्मललाई लागेको थिएन, अमेरिकी सेना हुँदै माइक्रोसफ्टसम्म पुग्छु भन्ने । हुन त आइटी क्षेत्रमा भविष्य खोज्नेहरुको सपनाको देश हो अमेरिका । उनी पनि त्यही सपना देख्नेहरुको भीडमा नै थिए, अरु मानिस जस्तै ।

‘फेसबुक, गुगल र माइक्रोसफ्ट जन्मिएका देश पुगेपछि कसो केही गर्न नसकिएला ?’ देश छोड्दै गर्दा अधिकांशको मनमा उब्जिने प्रश्नले उनलाई पनि घेरेको थियो । उत्साह र कौतुहलका बीच उनी सन् २००७ मा अमेरिका ओर्लिए हातमा सुटकेस र मनमा अनगिन्ती सपना बोकेर ।

काठमाडौंमा स्नातक सकेर निर्मल अमेरिकामा सफट्वेयर इन्जिनियर बन्न हिँडेका थिए । ‘हिँड्न त म सुटकेसभरि सपना बोकेरै हिँडेको थिए,’ साहित्यिक लवजमा उनी सुटकेसमा अटाएका सपना खोतल्छन्, ‘आईटी पढेर यही क्षेत्रमा काम गर्छु भन्ने थियो तर अमेरिका आएर थाहा पाएँ आईटी पढेर यही क्षेत्रमा काम गर्न नसकिने रहेछ ।’

विदेशी भूमिमा विद्यार्थी भएर पढ्न र पढाइ खर्च जुटाउनकै लागि दिनमै दुईदेखि तीन वटासम्म सिफ्टमा काम गर्नुपर्ने । प्रविधिको क्षेत्रमा काम गर्ने सोचमा अ‍ेमरिका पुगेका उनी डिपार्टमेन्ट स्टोरमा काम गर्न थाले ।

‘नेपालमा जस्तो पढेकै क्षेत्रमा काम गर्न पाइन्छ भन्ने हुँदैन रहेछ,’ उनी भन्छन्, ‘पैसा कमाउन जुनसुकै काम गर्न तयार हुनुपर्ने रहेछ ।’

निर्मल पुग्दा अमेरिका अरु बेलाको जस्तो चमकधमकपूर्ण अमेरिका थिएन ।

ग्लोबल फाइनान्सियल क्राइसिस उत्कर्षमा थियो । जसको प्रभावले अमेरिकाको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको थियो । झन्डै ४ सय बैंक बन्द भएको त्यस समयमा निर्मललाई मात्र होइन, स्वयं अमेरिकी नागरिकले समेत जागिर नपाउने अवस्था थियो ।

‘जागिर पाउन पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था थियो,’ उनी सम्झन्छन् । क्याम्पसको शुल्क बुझाउनुपर्ने र पेट पाल्नुपर्ने परिस्थितिका बीच निर्मलसँग आईटी क्षेत्रमै काम खोज्ने समय थिएन ।

विश्व आर्थिक मन्दीकै समय पारेर अमेरिकी सरकारले हजारौं विदेशी नागरिकसमेत सेना बन्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्यायो । सामान्य अवस्थामा अमेरिकी सेनामा जागिर खान अमेरिकाकै नागरिक वा ग्रिनकार्ड भएको हुनुपर्थ्यो ।

अमेरिकाले सन् २००९ बाट निश्चित समयका लागि अमेरिकी सेनामा विदेशी नागरिकलाई भर्ती गराउन थाल्यो । ‘सेना बन्ने मेरो सपना थिएन तर पैसा कमाउने विकल्पका अगाडि सेनाको जागिर सबैभन्दा ठूलो विकल्प थियो,’ उनले भने ।

त्यसताका सेनामा भर्ती हुनेले राम्रो आम्दानी गर्ने हुँदा उनी सेनामा गएका थिए । सफ्टेवयर इन्जिनियर बन्ने सपना त्यागेर सन् २०१० मा उनी अमेरिकी सेनामा भर्ती भए ।

सपना छुटे पनि उनले पढाइ छोडेका थिएनन् । उनले सफ्टवेयर इन्जिनियरिङमै स्नातक सके । ‘पढाइ सकेपछि ममा बेचैनी झन् बढ्न थालेको थियो,’ उनी भन्छन्, ‘मेरो सपना सेना थिएन, इन्जिनियर थियो ।’

निर्मललाई लाग्थ्यो- आफ्नै सपनाबाट टाढिँदा सन्तुष्टि पनि टाढिँदै छ । श्रीमतीले पनि उनको छटपटी अनुभव गरिरहेकी थिइन् ।

सेनाको जागिरे यात्रा उति सहज नभए पनि आम्दानीले घरखर्च भने सहजै टर्थ्यो । अक्सर बिदेसिनेहरुको सपना विलासीपूर्ण जीवन बिताउने हुन्छ । निर्मल फरक देखिए । उनी आम्दानी हुने जागिरमा पनि छट्पटिन्थे । नेपाल सम्झेर भक्कानिन्थे ।

भन्छन्, ‘धेरै पटक त सब छोडेर घर जाऊँ, नेपाल फर्कौं जस्तो हुन्थ्यो ।’ घर र सपनाबाट कोसौं टाढा पुगेका निर्मललाई सेनाको जागिर पनि उति सहज थिएन । कठिन तालिम पूरा गर्नुपर्थ्यो । ‘पछाडि फर्केर हेर्दा सेना हुँदाका ती दिन अहिले पनि निक्कै कठिन अनि दिक्दारका लाग्छन्,’ उनी नोस्टाल्जिक देखिन्छन् ।

त्यो समय उनलाई दिमागले भन्थ्यो सेनाको जागिर नछोड् अनि मनले भन्थ्यो जोखिम लिएर सपनालाई पछ्या ।

श्रीमतीसँग पनि जागिर थिएन । उनले पनि जागिर छोडे दुवै बेरोजगार हुने निश्चित थियो । ‘म शून्य थिएँ, विदेशी भूमिमा मसँग कुनै जागिर थिएन तर पनि सेनाको जागिर छाड्ने आँट गरेँ,’ उनले भने ।

निर्मललाई श्रीमतीले साथ दिइन् । घर सम्हालेर उनालाई सपना पूरा गर्ने बाटो खोलिदिइन् । छटपटीकै बीच सेनामा चार वर्ष जागिर खाएर सन् २०१४ मा उनले छोडे ।

त्यसको केही समयमा नै उनले अमेरिकी सेनालाई तालिम दिने संस्था यूएस नेभीमा डेटा एनालिस्टको काम पाए । ‘हातमा बन्दुक छोडेर कम्प्युटर बोक्ने यो जागिर यो मेरो सपनालाई पछ्याउने पहिलो सिँढी थियो ।’

नेभीमा रहँदा निर्मलले डेटा साइन्समा मास्टर्स गर्न पूर्ण छात्रवृत्ति पनि पाए । उनको छुटेको पढाइले फेरि निरन्तरता पाउने भयो । तर, यतिबेला भने उनी सफ्टवेयर इन्जिनियरिङबाट डेटातर्फ उन्मुख भइसकेका थिए । त्यसैले पनि उनी डेटा साइन्समा मास्टर्स गर्न तम्सिए ।

पढाइ र जागिरको पैँठाजोरीका बीच निर्मलले पहिलो पटक साइन्टिस्टको रुपमा काम गर्ने अवसर पाए, त्यो पनि अमेरिकाकै प्रतिष्ठित कम्पनीमा । सन् २०१९ मा निर्मललाई वित्तीय कम्पनी वेल्स फार्गोमा डेटा साइन्टिस्टको रुपमा काम गर्ने अफर आयो ।

निर्मलको सपनाले फरक बाटो समातिसकेको थियो । सफ्टवेयर इन्जिनियर उनी साइन्टिस्ट बन्दै थिए । उनको चासो डेटामा तीव्र रुपले बढ्दै थियो । ‘सपनालाई आफ्नै अगाडि देख्नु अनि त्यसैमा दिनरात काम गर्नु मेरा लागि सपना जस्तै नै थियो,’ उनी सम्झन्छन् ।

निर्मल दिनरात एक गरेर दौडिरहेका थिए । वेल्स फार्गोमा डेढ वर्षजति काम गरिसकेपछि निर्मललाई माइक्रोसफ्टबाट अफर आयो, डेटा एन्ड अप्लाइड साइन्टिस्टको रुपमा काम गर्ने । ‘यो मेरा लागि ठूलो उपलब्धि थियो, सपनाको उत्कर्षमा थिएँ म,’ उनी भन्छन् ।

सन् २०२१ यता उनी माइक्रोसफ्टमा सिनियर डेटा साइन्टिस्टको रुपमा कार्यरत छन् ।

सपनाको उडान भरेका निर्मललाई लाग्छ- उनको नेपालदेखि अमेरिका र अमेरिकी सेनादेखि माइक्रोसफ्टको डेटा साइन्टिस्टसम्मको यात्रा जीवनकै कठिन समय थियो ।

माइक्रोसफ्टले नयाँ परिचय थपेपछि अब निर्मल दिनहरु सहज रुपमा बित्नेमा ढुक्क छन् । ‘प्यासनको काम गर्न जतिसुकै कठिन भए पनि सजिलो लाग्ने रहेछ,’ उनले कन्फिडेन्स देखाए ।

डेटा साइन्टिस्टको रुपमा कार्यरत निर्मल अब आफू जस्तै सपना देख्ने युवाका लागि काम गर्न उत्सुक छन् । उनी आफैंलाई संघर्षका दिनमा बाटो देखाउने मेन्टर जसरी नै आफू पनि यस क्षेत्रमा आउने युवाको मेन्टर बन्न चाहन्छन् । भन्छन्, ‘डेटा साइन्स अवसरको ब्रह्माण्ड हो, मात्र सपना देख र पछ्याऊ । हामी यात्रामा निस्क्यौं भने सहयोग गर्नेहरु हामीसँगै धेरैजना आफैं जोडिँदै आउने रहेछन् । मसँग यस्तै धेरै साथी भेटिए, जसले माइक्रोसफ्टसम्मको यात्रालाई सम्भव तुल्यायो ।’

१५ वर्षअघि डिपार्टमेन्टल स्टोरमा काम गर्ने उनी अहिले माइक्रोसफ्टमा काम गर्छन् । निर्मल चाहन्छन्, डेटा साइन्समा भविष्य कोर्ने सपना देख्नेहरु उनलाई सुनुन् र सपना देख्न नडराउन् । यसका लागि अचेल उनी विभिन्न कार्यक्रममा युवालाई सपना देख्न उक्साइरहेका भेटिन्छन् ।

उनले टपमेट डट आइओमार्फत करियर कन्सल्ट्यान्टको रुपमा पनि काम गरिरहेका छन्, जहाँबाट उनी आफ्ना अनुभवहरु उत्सुक वर्गमा बाडिँरहेका हुन्छन्  ।


सम्झना घिमिरे