सेयर बजार बढ्यो



काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएयता लगातार ओरालो लागेको सेयर बजार आज सामान्य बढेको हो ।

उत्पादनमूलक, निर्जीवन बीमा र व्यापारबाहेकका सबै उपसमूह बढेपछि नेप्से परिसूचक ५.१६ अंकले उकालो लागेर १८९४.७६ अंकमा उक्लिएको छ । शुक्रबार सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिगततर्फ १५ र संस्थागततर्फ २० करोड पुर्‍याएयताको ३ कारोबार दिनमा बजार ६७ अंकले घटेको थियो ।

बजार बढ्दा १३७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ८५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार १ अर्ब २६ करोड ५९ लाख रुपैयाँको कारोबार भएको बजारमा आज १ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।

आज सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मान्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, समता घरेलु लघुवित्त र सयपत्री हाइड्रोपावरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।


क्लिकमान्डु