सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, ८ जना बने भाग्यमानी



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

बैंकको सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएकामध्ये १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बाँकी रहेको ८ जनाले प्रतिव्यक्ति १ कित्ताका दरले थप सेयर हात पारेका छन् ।
१० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएका थिए ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म अंकित मूल्यमा १३७.५८ रुपैयाँ थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीका कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता सेयर छुट्याएकोमा कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।

कर्मचारीले माग अनुसार आवेदन नदिएपछि ५ लाख ८८ हजार ७८४ कित्ता सेयर थप गरेर १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

आज बाँडफाँट भएको आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट, सेयर निष्कासन कर्ता कम्पनीको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओका नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु